राजनीति


मञ्जुश्रीको पाइला पछ्याउँदै सी चिनफिङ

मञ्जुश्रीको पाइला पछ्याउँदै सी चिनफिङ

नेपालखबर
असोज २४, २०७६ शुक्रबार ११:३३,

गत वर्ष अक्टोबरमा ५५ कीमीको सबभन्दा लामो हङकङ –झुहाइ–मकाउ सामुद्रिक पुल बनाएर चकित बनाएको चीनले यसै वर्ष सेप्टेम्बरमा बेइजिङमा ठूलो दाशिन इन्टरनेसनल एयरपोर्ट बनाएर अर्को चमत्कार थपेको छ।

विश्वकै सबभन्दा पाँच हजार वर्षको सभ्यता बोकेको चमत्कारकर्ता चीनका राष्ट्राध्यक्षको २३ वर्षपछिको नेपाल भ्रमणलाई सुखद् बनाउन नेपाल भौतिक र मानसिक रुपले तयार भइसकेको छ। ४० वर्षदेखि तीव्र आर्थिक विकासमा लागेको शक्तिशाली राष्ट्रमध्येका शक्तिशाली राष्ट्रपति सी चिनफिङको नेपाल आगमनको भ्रमण तालिकाले बडादशैँमा अर्को रौनक वा चाड थपेको छ।

पौराणिक कथनलाई मान्ने हो भने महाचीनको पञ्चशीर्ष पर्वत (उ थाइ शान अर्थात् छिङ लियाङ)बाट बोधिसत्व मञ्जुश्री स्वयम्भू दर्शन गर्न आएको र चोभारको डाँडो काटेर पानी पठाई हालको काठमाडौँ बस्तीयोग्य बनाएका थिइन्। चिनियाँ भिक्षु तथा अनुवादक फाहियानले पाँचौँ शताब्दीमा भारत, श्रीलंका र लुम्बिनी भ्रमण तथा सातौँ शताब्दीमा हुयन साङले पाकिस्तान, बंगलादेश, भारत र नेपाल भ्रमण गरी बौद्धधर्मसम्बन्धी दस्तावेज अनुवाद गरेका थिए। नेपालका बौद्ध विद्वान् बुद्धभद्र, विदूषी चेली भृकृटी र कलाकार अरनिकोले क्रमशः पाँचौँ, सातौँ र तेह्रौँ शताब्दीमा चीनलाई दिएको बौद्ध धर्म र कलासम्बन्धी योगदानले पनि चीनले आफ्नो कला संस्कृतिमा गर्व गर्न पाएको छ।

दुई देशबीच यस प्रकारको मित्रता र विश्वास आजसम्म कायम छ र दुवै पक्षले एक अर्कालाई सहयोग गर्ने क्रम जारी छ।

सन् १९५६ देखि आर्थिक र प्राविधिक सहयोग गर्न लागेको चीनले विगतमा नेपालमा अरनिको राजमार्ग, काठमाडौँ भक्तपुर सडक, पृथ्वी राजमार्ग, नारायणगढ मुग्लिन सडक, गोरखा नारायणगढ सडक, काठमाडौँ भक्तपुर ट्रली बस सेवा, काठमाडौँ चक्रपथ, काठमाडौँ बागलुङ सडक, सेती नदीको पुल, रसुवागढी स्याफ्रुबेंसी सडक, बाँसबारी छाला जुत्ता कारखाना, हेटौँडा कपडा उद्योग, हरिसिद्धि इँटा कारखाना, भृकुटी कागज कारखाना, लुम्बिनी सुगर मिल्स, सुनकोशी जलविद्युत् प्लान्ट, पोखरा वाटर कन्सरभेन्सी एन्ड इरिगेसन प्रोजेक्ट, सुनकोशी इलेक्ट्रिसिटी ट्रान्समिसन प्रोजेक्ट, बीपी कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुर, निजामती अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्र, काठमाडौँ र ललितपुरमा स्पोर्टस कम्प्लेक्स, आठौँ साफ गेम्सका लागि खेलकूद सुविधा, नेशनल ट्रेडिङ कम्प्लेक्स, काठमाडौँ र वीरगञ्जमा मालगोदाम, राष्ट्रिय सभागृह, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सेती पुल पोखरा सुदृढीकरण, नेपाल टेलिभिजनलाई सहयोग, पोलिक्लिनिक इन्स्टिच्यूट बनेपा, खासा काठमाडौँ अप्टिकल फाइबर, प्रकृति संरक्षण कोष अनुसन्धान केन्द्र, चिकित्सा उपकरण, निर्वाचन सामग्री आदि थुप्रै क्षेत्रमा सहयोग गरेको छ।

चीनको ऋण तथा अनुदानमा हाल सञ्चालनमा रहेका परियोजनामा माथिल्लो त्रिशूली ३ ए जलविद्युत्, उत्तरका १० जिल्लामा खाद्य सहयोग, चक्रपथ सुधार, चीनमा अध्ययनका लागि छात्रवृत्ति आदि छन्। हिमालपारि रहेकाले विकटताका कारण चीनसँग नेपालले जति लाभ लिन सक्नुपर्ने हो, त्यति देखिँदैन। सँगसँगै जसो प्रजातन्त्र र जनगणतन्त्र प्राप्त गरेका नेपाल र चीनबीचको विकास र समृद्धिको यो खाडल कम गर्न वर्तमान सरकारले शुरुदेखि नै समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर केही महत्वाकांक्षी योजना लिएर अघि बढेको छ। यसअघि प्रायः नसुनिएको अन्तर्राष्ट्रिय रेल, पानी जहाज, सुरुङ मार्ग, पाइपलाइन, अन्तरदेशीय पाइपलाइन जस्ता विषयले हाम्रा सोचाइ, योजना र बजेटमा प्राथमिकता पाएको छ र वर्तमान तथा भावी पुस्तालाई आशाको सञ्चार गराएको छ।

सन् १९७८ मा नेता देङ सियाओपिङका पालादेखि आन्तरिक तथा विश्व आर्थिक खुलापनमा प्रवेश गरेपछि चीनले चालीस वर्षका दौरानमा ८० करोड जनतालाई गरिबीबाट मुक्त सन् २०२० मा शून्य पार्ने योजनामा लागेको छ।

विश्वका सबै मानवको साझा भविष्य रहेको ठान्ने चीन बेल्ट एन्ड रोड इनिसियटिभका माध्यमबाट विश्वका मुलुकहरुसँग आर्थिक सामाजिक साझेदारी गर्न चाहन्छ र आर्थिक प्रतिफल बाँडेर लिन चाहन्छ। विश्वकै ठूलो जनसंख्या, बजार अर्थतन्त्रमार्फत दोस्रो ठूलो अर्थतन्त्र बनेको चीनको आर्थिक वृद्धिदर तीस वर्षसम्म दोहोरो अङ्क, प्रतिव्यक्ति आय करीब १० हजार अमेरिकी डलर र कुल गार्हस्थ उत्पादन करिब १४ ट्रिलियन (एक ट्रिलियन बराबर हजार अर्ब) पुगिसकेको छ।

संसारकै सबभन्दा ठूला क्षमताका उद्योग, विश्वको दोस्रो निर्यातकर्ता, धेरै देशसँग अन्तरराष्ट्रिय व्यापार र विश्वकै सबैभन्दा धेरै वैदेशिक मुद्रा सञ्चित रहेको देशका रुपमा चिनिन थालेको चीनसँग अन्य देशसँगको तुलनामा नेपालको व्यापार घाटा सबभन्दा बढी करिब रु दुई खर्ब छ। नेपाललाई आठ हजार वस्तुमा शून्य भन्सार दर दिँदा पनि चीनमा पर्याप्त निर्यात गर्न नसकेकामा अवस्थामा चिनियाँ लगानीकर्ताले नेपालमा लगानी गरी उत्पादन बढाउन र निर्यातमा सहयोग गर्नुपर्ने देखिन्छ।

छिमेकीहरुको शान्ति र समृद्धिमा आफ्नो खुशी देख्ने र छिमेकीको स्थिरताले आफ्नो स्थिरतामा बल पुग्ने ठान्ने चीनसँग नेपालले कडा मेहनतमार्फत समृद्धि हासिल गर्ने गुण सिक्न सक्छ। भ्रष्टाचारप्रति कठोर नियन्त्रण गर्ने तरीका जान्न सक्छ। जलवायु परिवर्तनबाट आक्रान्त नेपालले चीनजस्तै वातावरण प्रदूषण नियन्त्रणका कार्यक्रम ल्याउन सक्छ। आजको अत्याधुनिक युगमा मित्रबाट मित्रले पाउने उपहार समृद्धि र सुखको उपायरुपी ज्ञान हो जुन मञ्जुश्रीकै देशका सीको नेपाल आगमनबाट नेपालले पाउने आशा गर्न सकिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad