चिनियाँ राष्ट्रपति सी चिनफिङ यसै हप्ताको शुक्रबार दुईदिने भ्रमणका लागि भारत जाने भएका छन्।
एकै पटक नेपाल र भारत भ्रमण गर्ने तालिकाअनुसार सी शुक्रबार भारतको चेन्नई नजिकको शहर मामल्लापुरम जान लागेका हुन्, जहाँ भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ता हुने कार्यक्रम तय भएको छ।
टाइम्स अफ इन्डियाका अनुसार सी त्यहाँ २ वटा कार्यक्रममा सहभागी हुनेछन्। मोदीसँग ४ वटा वार्ता गर्नेछन्। उक्त चारवटा वार्ता ५ घन्टाको अवधिमा हुने जनाइएको छ।
सो क्रममा मोदी र सीले भारतको साँस्कृतिक कार्यक्रममा सँगै ७ घन्टा समय बिताउने कार्यतालिका रहेको छ। मोदीले सीलाई त्यहाँका साँस्कृतिक धरोहरुको दर्शन गराउनेछन्।
भारतमा २४ घन्टा रहँदा सीले मामल्लापुरमका तीनवटा मुख्य स्मारकको भ्रमण गर्नेछन्। शुक्रबार अपरान्ह साढे १ बजे चेन्नाई पुग्ने सी शनिबार साढे १ बजे त्यहाँबाट काठमाडौंका लागि उड्ने छन्।
शनिबार राती काठमाडौंमा रहने उनको कार्यतालिका छ। शनिबार र आइतबार काठमाडौंमा भेटवार्ता सकेर आइतबार बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ।
भारतले चीनको सिमानाभन्दा सय किलोमिटर टाढा अरुणाचल प्रदेशमा सैन्य शक्ति प्रदर्शन गर्ने कार्यतालिका छ। आगामी अक्टोबर २५ मा सैन्य शक्ति प्रदर्शनको कार्यतालिका घोषणा भएपछि चिनियाँ पक्ष यस कार्यबाट खुशी छैन।
कार्यक्रम पूर्वनिर्धारित भएका कारण यसले सीको भ्रमणलाई कुनै असर नगर्ने भारतीय पक्षको भनाइ रहेको छ।

प्रतिक्रिया