राजनीति


दुई तिहाइ सरकारको मूल्यांकन जनताले गरिराखेका छन्ः नेपाल

दुई तिहाइ सरकारको मूल्यांकन जनताले गरिराखेका छन्ः नेपाल

नेपालखबर
असोज १८, २०७६ शनिबार ८:३०,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले दुई तिहाइ सरकारको कामको मूल्यांकन नेपाली जनताले गरिराखेको बताएका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समिति भक्तपुरले सूर्यविनायकमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सबै नेपालीलाई सुखी बनाउने र सबैको अनुहारमा हाँसो ल्याउने योजनाका साथ काम गर्नुपर्ने चुनौती रहेको बताए।

नेकपा र सरकार यतिखेर अग्नि परीक्षामा रहेको चर्चा गर्दै उनले भने, ‘अहिले सरकार र नेकपाको अग्नि परीक्षा शुरु भएको छ, वडा, नगर, प्रदेशदेखि केन्द्रसम्ममा भएको कामको जनताले मूल्यांकन गरिरहेका छन्।’ नेता नेपालले दुई तिहाइको यो सरकारले गरिरहेको कामको परिणाम आगामी मंसिर १४ गते हुने उपनिर्वाचनले देखाउने उल्लेख गर्दै अधिकांश नेकपाका नेताले जितेको स्थानमा उपनिर्वाचन हुने भएकाले ती स्थानमा आफ्नो शान जोगाउनुपर्ने बताए।

उनले हिजो के भएको थियो भन्नुभन्दा पनि अहिले के गर्ने हो त्यसको योजना बनाएर काम गर्नुपर्ने भन्दै काम गर्दा कमीकमजोरी भए स्वीकार गर्ने र सुधार गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिए। उनले जनतालाई खुशी पार्ने ढंगबाट काम गर्नुपर्ने उल्लेख गरे। सरकार र नेकपामाथि आलोचना गर्नेहरुप्रति लक्षित गर्दै उनले भने, ‘अरूलाई हिलो छ्याप्नुभन्दा पहिला आफूलाई हेर्नुस्, आफूले के गरे, भन्ने आफैँ समीक्षा गर्नुस्।’

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले अहिलेकै पूँजीवादी कार्यशैलीबाट समाजवादतर्फ उन्मुख हुन नसकिने भएकाले पूँजीवादी चरित्र र सामन्तवादको अन्त्य अपरिहार्य रहेको बताए।

प्रतिष्ठानका जिल्ला अध्यक्ष धु्रवराज विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज दिलीप प्रजापति, केन्द्रीय सदस्य तथा जिल्लाका डेपुटी इन्चार्ज सोम मिश्रलगायतले दुई तिहाइ सरकारसँग जनताका असीमित अपेक्षा भएकाले त्यसलाई सम्बोधन गर्ने गरी कार्य गर्नुपर्ने चुनौती रहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad