ad ad

राजनीति


नेकपाको चाहनाः उपसभामुखको पनि राजीनामा

नेकपाको चाहनाः उपसभामुखको पनि राजीनामा

नेपालखबर
असोज १५, २०७६ बुधबार ११:१५,

संसद सचिवालयकै कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको पनि पद धरापमा परेको छ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुखले पनि राजीनामा दिए नयाँ प्रक्रिया सुरु गर्न सहज हुने निष्कर्ष निकाल्दै यस विषयमा छलफल सुरु गरेको छ। संविधानमा पनि सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाउने व्यवस्था भएका कारण उपसभामुखको राजीनामा आए प्रक्रिया सहज हुने निष्कर्षमा नेकपा पुगेको हो।

नेकपा संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले कानूनमा सभामुखसँगै उपसभामुखले पनि राजीनामा दिने व्यवस्था भएको बताएका छन्।

महराले उपसभामुखलाई सम्बोधन गर्दै मंगलबार राजीनामा दिएका थिए। राजीनामामा प्रयोग गरेको शब्दलाई लिएर विवाद भएपछि महराले बुधबार दिउँसो दोस्रो राजीनामा पत्र बुझाएका छन्। दोस्रो राजीनामा पत्रमा पनि महराले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई नै सम्बोधन गरेका छन्।

‘सभामुखले जुन ठाउँमा उपसभामुखलाई सम्बोधन गर्दै राजीनामा दिनुभयो त्यही ठाउँमा उपसभामुखले सभामुखलाई सम्बोधन गर्दै राजीनामा दिने कानूनी व्यवस्था छ’ उपनेता नेम्वाङले नेपालखबरसँग कुरा गर्दै भने, ‘यदि उपसभामुखले चाहनु भयो भने राजीनामा दिनलाई समस्या छैन।’

नेता नेम्वाङले उपसभामुखले राजीनामा दिने व्यवस्था मात्रै सुझाएनन् त्यसपछिको प्रक्रियाबारे पनि खुलस्त पारे। उनले उपसभामुखले दिएको राजीनामा संसद सचिवालयमा दर्ता गर्ने र संसद चलेका बेला संसदमा रहेका जेष्ठ सदस्यले उक्त राजीनामा पढेर सुनाउने व्यवस्था रहेको स्मरण गराए।

उपनेता नेम्वाङको यो भनाईले सत्तारुढ दल नेकपा उपसभामुखको राजीनामा चाहन्छ भन्ने देखिन्छ।

यता उपसभामुखको सचिवालयले भने उपसभामुखले तत्काल राजीनामा दिनेबारे नसोचेको बताएको छ। सांसदहरुलाई विदेश भ्रमणदेखि अन्य नियमित खालका काम गर्नका लागि पनि उपसभामुखको भूमिका रहने भएकाले तत्काल राजीनामा सम्भव नभएको बताएको छ।

‘संविधानको धारा र नियमावलीमा कुरा मिल्दैन’, सचिवालयका एक सदस्यले नेपालखबर कुरा गर्दै भने, ‘उपसभामुखले राजीनामा कसलाई बुझाउने भन्ने कुरा कानूनमा स्पष्ट छैन, त्यसैले राजीनामाबारे सोचिएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .