राजनीति


समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्णः गृहमन्त्री थापा

समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका महत्वपूर्णः गृहमन्त्री थापा

नेपालखबर
असोज ५, २०७६ आइतबार ७:१३,

 गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आइतबारदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा मन्त्री थापाले विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको बताए।

‘कुनै पनि राष्ट्रको विकास युवाका कारण भएकाले युवा परिचालनलाई राज्यले व्यापकता दिनुपर्छ’, उनले भने। गृहमन्त्री थापाले संसार बदल्ने युवा जनशक्ति भएकाले युवालाई समावेश गरेर अगाडि बढ्न जरुरी रहेको उल्लेख गरे।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन यो अभियानले सहयोग पुग्ने उनको भनाइ थियो। उनले सडक दुर्घटनाका कारण वर्षेनी दुई हजारभन्दा बढी व्यक्तिको ज्यान जाने गरको भन्दै यस्ता अभियानलाई १५ दिनमात्र नभएर वर्षभरि चलाउनसके दुर्घटनामा समेत कमी आउने बताए।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले चालु आवलाई सरकारले युवा परिचालन वर्षका रुपमा घोषणा गरेकाले समृद्ध मुलुक निर्माणका लागि युवालाई परिचालन गर्ने बताए। उनले यस वर्ष परिषद्ले युवामुखी ११ कार्यक्रमलाई अगाडि सारेको भन्दै सभ्य र अनुशासित युवा निर्माणमा यस्ता अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष नजिकिएसँगै विदेशी पर्यटकको पहिलो नजरमा ट्राफिक व्यवस्थापन र ट्राफिक प्रहरी पर्ने भएकाले यसलाई चुस्त, दुरुस्त बनाउनु जरुरी रहेको बताए। ‘राजधानीको प्रमुख पर्यटकीयस्थल ठमेल र प्रमुख धार्मिकस्थल पशुपतिनाथमा सवारी प्रवेश निषेध गरेकाले यहाँको सौन्दर्यता बढेको छ’, उनले भने।

कार्यक्रममा हास्य कलाकारद्वय मनोज गजुरेल र जीतु नेपालले ट्राफिक नियमलाई चुस्त, दुरुस्त बनाउनका लागि हरेक व्यक्तिमा जनचेतना आवश्यक रहेको उल्लेख गरे। पन्ध्र दिनसम्म चल्ने अभियानमा ट्राफिक स्वयंसेवकले जेब्राक्रसिङमा यात्रुलाई सहयोग गर्ने, पैदलयात्रुलाई फुटपाथ तथा आकाशे पुल प्रयोग गर्न सहयोग गर्ने, ‘पिक एण्ड ड्रप’ व्यवस्थित गर्ने, लेन व्यवस्थापन गर्ने, यात्रु सहायता कक्षमा रहेर सहयोग गर्ने काम गर्नेछन्।

अभियान उपत्यकाको दरबारमार्ग, केशरमहल, जमल, त्रिचन्द्र कलेज अगाडि, वीर अस्पताल, न्यूरोड, त्रिपुरेश्वर, कलङ्की, महाराजगञ्ज, विएण्डबी अस्पताल, कोटेश्वरलगायतका २५ स्थानमा सञ्चालन हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए। ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन २३ विद्यालय, दुई युवा क्लब, १६ यातायात प्रालि, १० ख्यातिप्राप्त कलाकार, १२ एयरहोस्टेजसहित ५०० स्वयंसेवकको सहभागिता रहने महाशाखाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad