ad ad

राजनीति


माटोको विशेषता र बजारको आवश्कता अनुसारक काम गर्नुहोस्ः मन्त्री अर्याल

माटोको विशेषता र बजारको आवश्कता अनुसारक काम गर्नुहोस्ः मन्त्री अर्याल

नेपालखबर
भदौ २८, २०७६ शनिबार ७:३६,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले माटोको विशेषता, बजारको आवश्यकताअनुसार सहकारीकर्मीहरू अगाडि बढ्न निर्देशन दिएकी छन्।

शुभप्रवा बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीलाई कमाउने धन्दा मात्रै बनाउन नहुने बताइन्। संस्थाको सदस्यको हितलाई पहिलो प्राथमिकता राखेर सहकारीले काम गर्नुपर्ने भन्दै उनले त्यसपछि संस्थाको सन्देश प्रवाह गर्नेगरी काम गर्न आग्रह गरे।

सहकारी अभियान कौसीमा भएकालाई पिंढीमा झार्ने नभएर पिंढीमा भएकालाई कौसीमा उकाल्ने अभियान भएको भन्दै मन्त्री अर्यालले ३४ हजार ५१२ सहकारीमध्ये करिब आधा जति बचत तथा ऋण सहकारी संस्थाहरु रहेको बताइन्। मन्त्रालयले यतिबेला मर्जरको अभियान सञ्चालन गरेको भन्दै बचत तथा ऋणसम्बन्धी काम गर्ने संस्थाहरूले पनि अब काम गर्ने तरिका बदल्ने अवस्था आएको उनको भनाइ थियो।

पूँजी जति परिचालन भयो त्यति फाइदा हुने भन्दै मन्त्री अर्यालले संकलन भएको रकम थुपारेर राख्‍ने मात्र नभएर त्यो पैसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न निर्देशन दिनुभयो । ‘अब सबै सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगाउने कानून बनाउँदैछौ’, उनले भनिन्, ‘सहकारीको हातखुट्टा बाँधेर प्रगति हुँदैन।’ एनले मोटोको विशेषता र बजारको आवश्यकता अनुसार अगाडि बढ्दै राजगारीमुलक कार्यलाई प्राथमिता दिन आग्रह समेत गरिन्।

पुरानो कानूनले सहकारीको आवश्यकता पूरा नगर्ने भन्दै मन्त्री अर्यालले सहकारी ऐन २०७४ ले समेट्न नसकेका कुरा समेट्नका निम्ति ऐन संशोधन गरेर अगाडि बढनुपर्ने बताइन्।
दिगो लक्ष्य हासिल गर्नका लागि द्रूतगतिमा बढीभन्दा बढी मान्छे सहभागी गराएर उत्पादनमा लगाउनुपर्ने भन्दै उनले तबमात्र लक्ष्य हासिल गर्न सकिने बताइन्। ‘गाउँमै उत्पादन बढाउने त्यसपछि रोजगारी सिर्जना गरेर अब विदेशिने युवालाई स्वदेशमै रोक्नुपर्छ’, उनले भनिन्।

सहकारीमा भएको लगानीको सुरक्षाका निम्ति मन्त्रालयले कर्जा सूचना केन्द्रको आवश्यकता देखेर त्यसलाई अगाडि बढाएको भन्दै उनले सहकारीमा ब्याजको विषयलाई लिएर धेरै गुनासो आएपछि त्यसमा एकरूपता ल्याउन अहिले १६ प्रतिशत ब्याजदर तोकिएको बताए।

यसैगरी ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा लाई सम्बोधन गर्दै मन्त्री अर्यालले अब बचत तथा ऋण सहकारीले पनि निश्चित उद्देश्य लिनुपर्ने बताइन्।

संविधानसभाबाट महिलामैत्री संविधान बनाएका कारण हिजोजस्तो घरमा केही तलमाथि भयो भने रित्तै हात महिला निस्कनुपर्ने अवस्थाको अन्त्य भएको उनले बताइन्।
अहिले अवस्था फेरिएको भन्दै मन्त्री अर्यालले महिलाको अधिकार र पहिचानको निम्ति महिला अधिकारकर्मीहरुले आवाज उठाएका कारण संविधानमा महिलाको वंश र अंशको अधिकार स्थापित गर्न सफल भएको बताइन्।

अब यो संविधानलाई कार्यान्वयन गर्नुपर्ने भन्दै उनले समाज, राज्य, परिवार महिलामैत्री बन्न थालेको भन्दै अबको आवश्यकता भनेको आर्थिक सशक्तीकरण, क्षमता विकासकै आवश्यकता भएको बताइन्।

गाँठ दह्रो भयो भने आँट दह्रो हुने भन्दै मन्त्री अर्यालले महिलाहरु आत्मनिर्भर बन्न आग्रह गरिन्। महिलाहरू आत्मनिर्भर बन्दा कसैले पनि हेप्न नसक्ने भन्दै सीप सिकेर उद्यमी बन्न मन्त्री अर्यालले आग्रह गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .