ad ad

राजनीति


केपी ओली प्रवृति संविधान, लोकतन्त्र र राष्ट्रका लागि घातक : प्रचण्ड

केपी ओली प्रवृति संविधान, लोकतन्त्र र राष्ट्रका लागि घातक : प्रचण्ड

नेपालखबर
असार १६, २०७८ बुधबार १४:३६,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र, राष्ट्र र संविधानको मुख्य घातक नै केपी ओली प्रवृत्ति भएको बताएका छन्।

विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका अगुवाहरुसँग गरेको अन्तर्क्रियामा बोल्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिका विरुद्ध संविधानको रक्षा, लोकतन्त्रको रक्षा र राष्टको रक्षाका लागि ५ दलीय गठबन्धन बनेको स्पष्ट पारे। उनले ओली प्रवृत्ति विरुद्ध एकजुट हुन पनि सबैलाई आव्हान गरे।

उनले भने, ‘लोकतन्त्र, राष्ट्र,संविधानको निम्ति अहिलेलाई मुख्य घातक ओली प्रवृत्ति हो। त्यसका विरुद्ध हामी छौं। ओलीका विरुद्ध जाने हदसम्म तपाईहरुसँग हो हामी तर तपाईहरु भित्र पनि हामीले ओली देखेका छाैं हामीले। त्यसैले धेरै आसा छैन तर अहिलेको मुख्य समस्या ओली भएकाले त्यहाँसम्म हामी सँगै छौं भन्ने ठान्छु। हाम्रो कार्यगत एकता भयो। हामीले राम्रोसँग आत्मसाथ गर्दा यो छलफल क्रिटिकल ढंगले अघि बढेकाले यो बढी फलदायी हुन्छ भन्ने मैले महसुस गर्छु।’

राजनीतिक दलका नेताहरु समस्या पर्दा जनतामाझ आउने र सत्तामा पुगेपछि जनजीविकाका सवाल विर्सने गर्दछन् भन्ने सञ्चारकर्मीको आरोपमा उनले सबै नेताहरु उस्तै नभएको दाबी गरे। उनले शान्ति प्रक्रिया देखि संविधानसभाबाट संविधान जारी गरेर गणतान्त्रिक मुलुक घोषणा गर्ने समयसम्म आफूले गरेको योगदान तथा सम्झौताहरुको फेयरिस्त राख्दै उनले ती काममा लचिलो हुनु गल्ति थियो भनी प्रश्न गरे।

उनले भने, ‘तपाईंहरुले भने जस्तो हामी सबै उस्तै चाहीँ होइनौं। केपीले प्रतिनिधित्व गर्ने प्रवृत्ति र हामी यहाँ भएका ५ पार्टीले प्रतिनिधित्व गर्ने प्रवृत्ति एउटै होइन। म युद्धमा थिएँ ठिकै थिएँ। म शान्तिमा आउनु गल्ति भएको हो? संविधानसभा बनाउनु गल्ती भएको हो? संघीय लोकतन्त्र गणतन्त्र घोषणा गर्नु गल्ती भएको हो? तपाईहरु सोचिदिनोस्। किन यस्तो भयो। मैले चुनाव गरिसकेपछि राजनीतिक स्थायीत्वका लागि कम्युनिष्ट एकता गर्दा ठिक हुन्छ भनेर प्रस्ताव प्रस्ताव गर्न गएँ। गल्ति गरेँ मैले? मैले गलत सम्झौता गरेको थिएँ त केपीसँग? लिडरसिपका बारेमा गरिएका सम्झौता सहमतिहरु गल्ती थिए त राष्ट्रको अहितमा थिए त? यो पटक त लिखित गरिएको छ भन्ने ठानेँ मैले। सबैको हस्ताक्षर सहितको दस्तावेज पारिएको छ भने ठिकै छ। यस्तो त नहोला भनेको। मेरो गल्ती हो त्यो?’

कम्युनिष्ट पार्टी एकीकरणका बेला भएका सहमतिमा हस्ताक्षर गरेका प्रधानमन्त्री ओली अहिले भने खलनायकको रुपमा देखा परेको टिप्पणी गरे। उनले विश्वभरका कम्युनिष्ट पार्टीहरुमा खलनायक जन्मिएको इतिहास रहेको भन्दै त्यसविरुद्ध लड्नुको विकल्प नभएको बताए।

उनले भने, ‘अहिले भिलेन भए। कुनचाहीँ पार्टी छ त्यसमा भिलेन नजन्मिएको पार्टी संसारमा कुनै छ। जन्मिन्छ। लड्ने हो। लड्दै जाने हो। मैले केपी ओलीलाई त्यत्तिसाह्रै अपराधी त छैनन् भन्ने ठानेँ तर सकिएन। सक्न त सकेको हो। बहुमत पनि बनाएको हो तर पनि भएन। हामी पराजित भएकै होइन। यो परिस्थिति जो श्रृजना भएको छ। यस्तो परिस्थिति किन तयार भयो भन्ने पक्ष पनि हेरिदिनोस् भन्ने मात्रै मेरो आग्रह हो।’

उनले भने, ‘ओली प्रवृत्तिको अन्त्य अपरिहार्य छ। संविधानको हुर्मत लिइएको छ। संविधानको रक्षा, सिस्टम र लोकतन्त्रका आधारभूत मान्यताको रक्षा र राष्ट्रियताको रक्षाको आधारमा गठबन्धन हो यो। हामीलाई जातिवित्ति नै त नगर्नुहोला भन्ने हो। घोच्नुभएको छ हामीलाई बेस्सरी। अलि कस्सिईउँ कि जस्तो पनि लागेको छ। तर अहिले बेला त्यो छैन। सरकार बनेपछि पनि तपाईहरुलाई फेरि बोलाईन्छ।’

उनले सरकार बन्ने वित्तिकै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउने, वर्तमान सरकारले गरेका अबैधानिक राजनीतिक नियुक्तिहरुलाई बदर गर्ने लगायतका काम गर्ने पनि स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .