राजनीति


इरानसँगको विवादका कारण अमेरिकाले इराक र सिरियामा हवाई आक्रमण गर्‍यो

इरानसँगको विवादका कारण अमेरिकाले इराक र सिरियामा हवाई आक्रमण गर्‍यो

नेपालखबर
असार १४, २०७८ सोमबार ५:५३,

अमेरिकाले इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि हवाई आक्रमण सुरु गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको हो।

बीबीसीका अनुसार अमेरिकी फौजमाथि इरान समर्थित विद्रोहीले ड्रोन हमला गरेपछि प्रतिक्रिया स्वरुप विद्रोहीको हतियार केन्द्रहरूमा हमला गरिएको पेन्टागनको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा अमेरिकी सैनिकको रक्षा गर्ने कुरामा राष्ट्रपति जो बाइडन स्पष्ट रहेको जनाइएको छ।

बाइडनले राष्ट्रपति बनेयता इरान समर्थित विद्रोहीमाथि आक्रमण गर्न स्वीकृति दिएको यो दोस्रो पटक हो।

इराकमा रहेका अमेरिकी सेनामाथि गएका महिनामा केही ड्रोन आक्रमणहरू भएका थिए। इरानले यस घटनमा आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ।

आईएस समूहसँग लड्न इराकमा २,५०० जति अमेरिकी सैनिक रहेका छन्।

पेन्टागनका अनुसार सिरियाका दुई र इराकको एक लक्ष्यमा रक्षात्मक हवाई हमला गरिएको हो। ती लक्ष्य इरान समर्थित कैताइब हेज्बुल्लाह र कैताइब सय्यद अल–शुहादा विद्रोही समूहले प्रयोग गर्ने स्थान भएको जनाइएको छ।

सन् २००९ देखि अमेरिकाले कैताइब हेज्बुल्लाहलाई इराकको शान्ति र स्थिरताका लागि खतरा भन्दै आतङ्ककारी समूहको सूचीमा राखेको छ।

विज्ञप्तिमा अमेरिकाले आफ्नो रक्षाका लागि प्रतिक्रिया जनाएको बताइएको छ।

अमेरिकाले हमलामा के कति घाइते भए वा मारिए भन्ने बताएको छैन। तर एएफपी समाचार संस्थाले यूकेको सिरिया अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सिरियामा अमेरिकी युद्ध विमानको एउटा आक्रमणमा पाँच विद्रोही मारिएको र अन्य केही घाइते भएको जनाएको छ।

सिरियाको सरकारी समाचार संस्था सानाले एक बालक मारिएको र कम्तीमा अन्य तीन जना घाइते भएको विवरण प्रकाशित गरेको एएफपीले जनाएको छ।

अमेरिकी नेतृत्वमा सद्दाम हुसेनलाई निस्तेज पारिएयता इराकको आन्तरिक मामिलामा इरानको प्रभाव बिस्तारै बढिरहेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad