राजनीति


माधव नेपालको आरोप : केपी ओली दक्षिणपन्थी

माधव नेपालको आरोप : केपी ओली दक्षिणपन्थी

नेपालखबर
असार १४, २०७८ सोमबार ३:२२,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा एकताबद्ध हुन पार्टीका सम्पूर्ण नेता/कार्यकर्ता तथा आम जनसमुदायलाई अपिल गरेका छन्।

यस क्रममा नेता नेपालले नाम नलिईकन प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी बाटोमा लागेको आरोप पनि लगाएका छन्।

मदन भण्डारीको ७०औं जन्मजयन्तीका अवसरमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भनेका छन्, ‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिस्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तीतो यथार्थ एवम् हामी सबैका लागि दु:खद अवस्था हो।’

यसैकारण यस्ता विचलन, विकृति, विसंगति, बेथिति र अन्याय अन्त्य गर्दै नेकपा एमाले मात्र नभई सिंगो कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगबाट एकीकृत गर्न सम्बन्धित सबै लाग्नुपर्ने नेता नेपालको भनाइ छ।

यस्तो छ, माधव नेपालले जारी गरेको वक्तव्यको पूर्ण पाठ : 

७०औं मदन जयन्तीको हार्दिक शुभकामना!
आज असार १४, नेकपा एमालेका तत्कालीन महासचिव जननेता कमरेड मदनकुमार भण्डारीको ७०औं जन्मजयन्ती, सबैभन्दा पहिले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

अधिनायकवाद तथा निरंकुशताविरुद्ध लामो संघर्ष गरेका सहयोद्धा कमरेड मदन भण्डारीको नेतृत्वमा हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलनसमेतको अनुभवका आधारमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको नयाँ आधार निर्माण गर्यौं। यसै सन्दर्भमा कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउने, लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्ने, स्वच्छ छवि कायम राख्ने, जनताको दुःखसुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास प्राप्त गरी शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न उहाँको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको हो।

शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिस्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरूप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवम्बन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरू नष्ट गर्ने तथा संविधानमाथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिस्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तीतो यथार्थ एवम् हामी सबैका लागि दुस्खद अवस्था हो।

अत: विद्यमान वैचारिक-राजनैतिक-सांस्कृतिक-आर्थिक विचलन, विकृति, विसंगति, सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आह्वानसहित पुनस् जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दछु।

-माधवकुमार नेपाल, १४ असार २०७८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad