राजनीति


पार्टी परित्याग गरेपछि बेदुराम भुसाल सांसद रहँदैनन्: एमालेका प्रमुख सचेतक

पार्टी परित्याग गरेपछि बेदुराम भुसाल सांसद रहँदैनन्: एमालेका प्रमुख सचेतक

नेपालखबर
असार १४, २०७८ सोमबार ०:२९,

राष्ट्रिय सभामा नेकपा एमाले (सत्तापक्ष) का प्रमुख सचेतक खिमलाल भट्टराईले बेदुराम भुसालले पार्टी परित्याग गरेपछि उनी सांसद पनि नरहने दाबी गरेका छन्।

भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा पत्र पठाएपछि प्रमुख सचेतक भट्टराईले दल छाडेपछि उनको सांसद पनि स्वतः जाने टिप्पणी गरेका हुन्।

‘राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले आफू स्वतन्त्र सांसद रहेको र अबदेखि मलाई यसै हिसाबको व्यवहार गर्नू, गराउनू, दलको सांसदको हैसियतमा काटिँदै आएको लेबी नकाट्नु भनेर संसद् सचिवालयमा पत्र पठाएका छन्,’ प्रमुख सचेतक भट्टराईले भनेका छन्, ‘यो पत्रसँगै उनले नेकपा एमाले परित्याग गरेको जनाएका छन्। पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन्, तर सांसद भइरहन सम्भव हुँदैन।’

प्रमुख सचेतक भट्टराईले भुसालको यो निर्णय पार्टी र आन्दोलनप्रति गद्दारी भएको आरोप पनि लगाएका छन्।

सांसद भुसालले भने आफू नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएका बेला राष्ट्रिय सभा सदस्य बनेको र २०७७ फागुन २३ गते सर्वाेच्च अदातलले उनीहरू मिलेर बनेको नेकपा भंग गरेकाले आफूले स्वतन्त्र सांसदको मन्यता पाउनुपर्ने माग गर्दैै आइतबार संसद् सचिवालयमा पत्र पठाएका हुन्।

‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भई निर्वाचित मसहितका जनप्रतिनिधिहरू दलविहीन अर्थात् स्वतन्त्र हुनुपरेको सर्वविदितै छ,’ संसद् सचिवालयलाई लेखेको पत्रमा भुसालले भनेका छन्, ‘तत्पश्चात् म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रूपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रूपमा नै रहन चाहन्छु।’

तर सचेतक भट्टराईले दुई पार्टीको एकतापछि पार्टी नामको विषयमा अदालतले गरेको फैसलाले एमाले र माओवादी केन्द्र दुई पार्टी हुने भनेकाले राष्ट्रिय सभाका सदस्यलाई दुईमध्ये एउटा पार्टी रोज्न सक्ने प्रावधान हुन सक्ने तर स्वतन्त्र सांसद हुन नसक्ने जिकिर गरेका छन्।

‘सूर्य चिह्न र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरूको मतबाट बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्दछ,’ प्रमुख सचेतक भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ।’

यस क्रममा सचेतक भट्टराईले ‘आफूलाई एमालेको वरिष्ठ नेता भन्ने माधवकुमार नेपाल अब स्वतन्त्र सांसदको नेता बन्नुभयो त’ भनेर प्रश्न पनि गरेका छन्।

एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षबीचको विवाद उत्कर्षमा पुगेका बेला भुसालले दल त्यागको घोषणा गरेका हुन्। भुसाल नेपाल समूहका महत्त्वपूर्ण नेता हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .