ad ad

राजनीति


कांग्रेसले कसरी टुंग्याउँदै छ क्रियाशील सदस्यता विवाद, यस्तो भन्छन् नेता लेखक

कांग्रेसले कसरी टुंग्याउँदै छ क्रियाशील सदस्यता विवाद, यस्तो भन्छन् नेता लेखक

नेपालखबर
असार १३, २०७८ आइतबार १३:५०,

नेपाली कांग्रेसले पूर्वनिर्धारित समयभित्रै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यता वितरणलाई टुंगो लगाउने भएको छ।

नेपाली कांग्रेसको पार्टीभित्रकोे आन्तरिक समायोजन लगायत विभिन्न कारणले रोकिएको क्रियाशील सदस्यता वितरण कार्य सबै जिल्लामा सुरु भइसकेकाले समयमै टुंगो लगाएर वडादेखि केन्द्रसम्मको सबै अधिवेशन समयभित्रै सम्पन्न गरिने नेता रमेश लेखकले जानकारी दिए। आइतबार बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरु सम्मिलित बैठक कार्यतालिका अनुसार पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने विषयमा केन्द्रित भएर छलफल अघि बढेको उनले जानकारी दिए।

पार्टीको वडादेखि केन्द्रसम्मका सबै अधिवेशन सम्पन्न गर्नका लागि पूर्वसर्तको रुपमा रहेका क्रियाशील सदस्यताको छानबिन, व्यवस्थापन र अन्तिम सूची तयार गर्ने काममा केन्द्रित भएर छलफल भएको पनि उनले बताए। बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक समेत रहेका नेता लेखकले आफ्नो समितिको संक्षिप्त मौखिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

उनले अधिकांश जिल्ला र निर्वाचन क्षेत्रबाट क्रियाशील सदस्यताको नवीकरण र नयाँ इन्ट्री पनि भइसकेको तथा पार्टीको आन्तरिक समायोजनसम्बन्धी विवादका कारण प्रभावित भएका जिल्लामा पनि काम सुरु भएको जानकारी दिए।

पार्टीको आन्तरिक समायोजनका कारणले बारा र बर्दिया जिल्लाका पार्टी कार्यालयमा तालबन्दी भएकाले र लामो समयसम्म समायोजनसम्बन्धी विवाद रहेकाले सिन्धुपाल्चोक जिल्लामा क्रियाशील सदस्यता वितरणको काम अघि बढ्न सकेको थिएन। ती सबै जिल्लामा अहिले क्रियाशील सदस्यता वितरणको काम भइरहेको नेता लेखकले जानकारी दिए। नेता लेखकले कांग्रेसले जारी गरेको कार्यातालिकाकै समयमा स्थानीय वडादेखि जिल्लातहसम्मका अधिवेशन, प्रदेशतहको अधिवेशन र महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यताको काम सम्पन्न गर्ने विश्वास दिलाए।

नेता लेखकले भने, ‘झण्डै ८ लाख २० हजार क्रियाशील सदस्यताको इन्ट्रि भइसकेको छ। अधिकांश स्थानको सदस्यता वेभसाइटमा सार्वजनिक भइसकेको छ। प्राप्त उजुरी र गुनासामाथि छलफल भइरहेको छ। केही कुरामा समान धारणा बन्न नसकेकाले ती विषयमा पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गरेर समान धारणा बनाउने प्रयास भइरहेको छ। नेपाली कांग्रेसले जारी गरेको कार्यातालिकाकै समयमा स्थानीय वडादेखि जिल्लातहसम्मका अधिवेशन, प्रदेशतहको अधिवेशन र महाधिवेशन त्यही तालिकामा हुने गरि क्रियाशील सदस्यताको काम सम्पन्न गर्ने कुरामा अगाडि बढेका छौँ। त्यो हामी सम्पन्न गर्छाैं भन्ने म विश्वास दिलाउन चाहन्छु।’

नेता लेखकका अनुसार २ जिल्ला बाहेकका जिल्लाबाट विभिन्न किसिमका उजुरी तथा गुनासाहरु आएका छन्। ती गुनासा तथा उजुरीलाई छलफल गर्दै टुंग्याउँदै लगिएको उनले बताए। क्रियाशील सदस्यहरु नै मतदाता पनि भएकाले महाधिवेशनको पूर्वसन्धयामा क्रियाशील सदस्यताको विषय टुंगो लगाउने कार्य जटिल भएको नेता लेखकले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .