संसद् विघटनको मुद्दाका विपक्षीबीच समयको विषयमा कुरा मिल्न सकेको छैन।
इजलासले विपक्षीलाई १५ घण्टा समय दिए पनि सभामुखका कानुन व्यवसायी र महान्यायाधिवक्ता रमेश बडालबीच सहमति हुन नसकेको हो।
महान्यायाधिवक्ताले एक घण्टा मात्रै दिने बताएका छन्।
सभामुख पक्षले भने पौने ४ घण्टा समय पाउनुपर्ने माग गरेको थियो। रिट निवेदकको बहस सकिएलगत्तै यो विषय महान्यायाधिवक्ता बडालले इजलासमा उठाएका छन्।
बडालले सभामुखको माग पनि रिट निवेदन जारी गरिपाऊँ भन्ने नै रहेकाले रिट खारेज गरिपाऊँ भन्ने पक्षमात्रै विपक्षी भएको बताए।
शेरबहादुर देउवासहित १४६ जना सांसदले अदालतबाट रिट जारी गरिपाऊँ भनेर माग गरेका छन्। सभामुख सापकोटाको पनि त्यही माग छ।
महान्यायाधिवक्ता बडालले एक घण्टा मात्रै समय दिने बताएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने, ‘ल ठीक छ तपाईंहरु १४ घण्टा बहस गर्नुस्, उहाँहरुलाई थप समय आवश्यक पर्यो भने हामी थपौँला।’
महान्यायाधिवक्ताको तर्फबाट सोमबारदेखि बहस सुरु हुनेछ।

प्रतिक्रिया