ad ad

राजनीति


गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै पौडेलले भने : सरुवा बढुवाको लागि एउटा पुलिस पनि नआओस्

गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै पौडेलले भने : सरुवा बढुवाको लागि एउटा पुलिस पनि नआओस्

नेपालखबर
असार ११, २०७८ शुक्रबार १०:३०,

गृहमन्त्री विष्णु प्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन्।

शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफूले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेही भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताएका छन्। उनले आफूसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए । संवैधानिक व्यवस्था र कानुनी प्रवन्धका आधारमा आफ्नो जिम्मेवारी पुरा गर्न उनले निर्देशन दिए । मन्त्री पौडेलले नतिजामुखि काम आफूले खोजेको पनि बताए ।

उनले भने, ‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिन। म हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ। कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यसहिसाबले अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छु। यहाँहरुले आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरु सबै स्वतन्त्र हुनुहुन्छ। कुनै प्रहरी संगठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन। गृह सचिवले हस्तक्षेप गर्दैन। संवैधानिक व्यवस्था, कानुनी प्रवन्ध र स्थापित प्रणालीहरु छन्, त्यसका आधारमा आ–आफ्ना जिम्मेवारी पुरा गर्नका निम्ति यहाँहरु सबै स्वतन्त्र हुनुहुन्छ। मलाई नतिजा चाहिन्छ। नतिजाप्रति जवाफदेही भएर, जिम्मेवार भएर यहाँहरुले काम गर्नुपर्छ भन्नेमा पनि मान्यता राख्छु।’

मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरी पनि आफूकहाँ नआउनको लागि निर्देशन गरे। आफू मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उहाले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताए।

उनले भने, ‘म कहाँ एउटा पनि पुलिस नआओस्। अन्याय भयो भनेर साच्चि नै अन्याय अनुभुत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु। नभए प्रमोशनका निम्ति, थमौतिका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस म कहाँ नआओस्। प्रहरी संगठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरु स्वतन्त्र हुनुहुन्छ। मेरो जिम्मेवारी सहजीकरणको हो। हामीले गर्नुपर्ने निर्णय, निर्देशनका लागि हामी जवाफदेही/जिम्मेवार छौँ, त्यस ढंगले गर्नेछौँ। त्यसबाहेकका यावत् कामहरु यहाँहरुले गर्नुपर्दछ।’

उनले राजनीतिक परिस्थितिको प्रभाव गृहमन्त्रालयमा पर्न नहुने पनि बताए। अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्न पनि उनले निर्देशन दिए।

उनले भने, ‘राजनीतिक परिस्थितिको प्रभाव चाहीँ गृह प्रशासनमा पर्नु हुँदैन। सुरक्षा निकायमा पर्नु हुँदैन। राजनीतिक परिस्थिति अलग चिज हो। त्यो आफ्नो ढंगले चल्दै गर्छ। त्यसबाट यहाँहरु प्रभाव नहुनुहोला। अदालतको मुद्दा, राजनीतिक परिस्थितिको प्रभावबाट गृह प्रशासन, सुरक्षा निकाय प्रभावित हुँदैन। शान्ति सुरक्षा, जिउधनको रक्षामा गम्भीरताका साथ ध्यान दिनुस्।’

मन्त्री पौडेलले आफू मन्त्रालयको कामका साथै राजनीतिक काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन नसक्ने पनि बताए। उनले गृह सचिवसँग दिनमा एकपटक भेट गर्ने भन्दै प्रहरी प्रमुखलाई आवश्यक परे मात्रै भेट्न अन्यथा गृहसचिवसँगकै समन्वयमा काम गर्न निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .