राजनीति


प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

प्रदेशवासीलाई खोप सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री पोखरेल

नेपालखबर
असार १०, २०७८ बिहिबार ८:६,

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई कोरोनविरुद्धको खोप दिलाउन प्रदेश सरकार प्रद्धिबद्ध रहेको बताएका छन्।

पोखरा महानगरपालिकाको नवौं नगरसभामा बिहीबार उनले नागरिकको जीवन जोगाउन र उनीहरुको स्वास्थ्य रक्षाका लागि बजेटको अभाव नहुने भनाई राखे।

संघ सरकारले अनुदानका रुपमा पाउने र खरिद गर्ने बाहेक पनि निजी क्षेत्रबाट खोप खरिद गर्न सकिने प्रावधानका बारेमा समेत आफूहरुले अध्ययन गरिरहेको मुख्यमन्त्री पोखरेलले बताए।

संघीयताको आधारस्तम्भ स्थानीयतहलाई थप मजबुत र अधिकार सम्पन्न गराउन संघ र प्रदेश सरकार लाग्नुपर्ने उनले बताए।

उनले लोकतन्त्रको आधार स्तम्भ स्थानीय तहको संस्थागत विकासका माध्यमबाट लोकतन्त्रलाई सुदृढ बनाउनु पर्ने बताएका हुन्।

उनले भने, ‘संविधानमा उल्लेखित साझा अधिकारका सूची कार्यान्वयनमा साझा दृष्टिकोण भने बनाउनु पर्नेछ। उनले विकास निर्माणका कार्य र राजश्वको योगदानमा समेत स्थानीय तह र प्रदेश सरकारबीच थप साझेदारी र सहकार्य हुनु पर्ने बताए।

कार्यक्रमको सुरुमा मुख्यमन्त्री पोखरेलले महानगरले प्रकाशन गरेको कानुनहरुको संगालो विमोचन गरे।

कोरोना नियन्त्रण र प्राकृतिक प्रकोप पीडितको व्यवस्थापनमा प्रदेशले बनाएका योजनामा महानगरबाट सहयोगको अपेक्षा गरेको भनाइ उनले राखे। यसैगरी गण्डकी प्रदेशको लाइफलाइन कोरोला, पोखरा, त्रिवेणी सडकको निर्माणमा समेत सहकार्य गर्न सकिने उनको भनाइ थियो।

लोककल्याणकारी राज्यको अवधारणा अनुसार विकासले नागरिकको समृन्नती र गरिबी न्यूनिकरण गर्नुपर्छ भन्ने मान्यता सरकारले बोकेको भन्दै उनले सुशासन स्थापनालाई पनि प्राथमिकतामा राखेर अगाडि बढेको बताए।

प्रदेश र स्थानीय तहमा अझै पनि जनशक्ति व्यवस्थापन ठूलो चुनौती रहेको भन्दै यसका लागि संघ सरकारले छिटो निजामती सेवा ऐन ल्याउनु पर्नेमा उनले जोड दिए। उनले भने,‘ यी समग्र आधारहरुमा टेकेर विकास र सुशासनलाई सहकार्य र समन्वय गर्दै अगाडि बढ्नु पर्दछ भन्ने हाम्रो मान्यता छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .