संसद् विघटनको मुद्दामा आजबाट बहस सुरु भएको छ।
शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरेका १४६ सांसदको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले बहस गरिरहेका छन्।
यसअघि खम्बबहादुर खातीले बहस गरेका थिए।
बहसका क्रममा बन्दीले इजलासले ५ वटा प्रश्नको जवाफ दिनुपर्ने बताए।
अधिवक्ता बन्दीले इजलाससँग सोधेका छन्–
१. राष्ट्रपतिले प्रधानमन्त्रीका लागि आएको दाबी इन्कार गर्न मिल्छ कि मिल्दैन ?
२. ७६ (३) को प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि फेरि ५ अनुसार प्रत्याशी बन्ने र दाबी गर्ने अधिकार राख्छ कि राख्दैन ?
३. ७६ (५) को प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रियामा राजनीतिक दलको ह्विप लाग्छ कि लाग्दैन ?
४. राजनीतिक दलसम्बन्धी ऐन यसमा आकर्षित हुन्छ कि हुँदैन ?
५. ७६(३) अनुसार बनेको र त्योभन्दा पहिले नै विश्वास गुमाएको प्रधानमन्त्रीले विघटन गर्न सक्छ कि सक्दैन ?
यी प्रश्नको जवाफ इजलासले दिनुपर्ने बताउँदै बन्दीले आफ्नो बहस सुरु गरेका छन्।
बहसकर्तालाई कति समय बहस गर्ने भन्ने इजलासले खुल्ला छाडिदिएको छ। कसले कति बहस गर्ने भन्ने उनीहरु स्वयंले व्यवस्थापन गर्नुपर्नेछ।
रिट निवेदक पक्षलाई सुरुवाती बहसका लागि १२ घण्टा समय दिइएको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध ३० वटा रिट निवेदन परेकोमा पहिले देउवासहित १४६ सांसदको रिटमा फैसला हुनेछ।

प्रतिक्रिया