राजनीति


माओवादी केन्द्रको विधानमा एमालेको देखासिकी!

माओवादी केन्द्रको विधानमा एमालेको देखासिकी!

सागर न्यौपाने
असार ८, २०७८ मंगलबार १४:२०,

नेकपा माओवादी केन्द्रले एमालेले अपनाउँदै आएको केही प्रावधानलाई अवलम्बन गर्दै नयाँ विधान तयार गरेको छ।

सोमबार केन्द्रीय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको विधानमा केही प्रावधान एमालेको जस्तै भएको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिए।

माओवादी केन्द्रले पहिलो पटक पार्टीमा उपमहासचिवको व्यवस्था प्रस्ताव गरेको छ। तर, उपमहासचिव कति रहने भन्ने प्रस्तावित विधानमा तोकिएको छैन।

२०७१ मा भएको नवौँ महाधिवेशनबाट नेकपा एमालेले २ उपमहासचिव रहने व्यवस्था गरेको थियो।

माओवादी केन्द्रको अहिलेसम्मको पार्टी संरचनामा उपमहासचिवको व्यवस्थै थिएन।

०६९ माघमा हेटौँडा महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदसहित माओवादी बहुपदीय प्रणालीमा गएको थियो।

चुनाव नगरे पनि अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्षमा डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा महासचिवमा पोष्टबहादुर बोगटी बनेका थिए भने वर्षमान पुन, टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेल सचिव चयन भएका थिए।

‘हाम्रो पार्टी हेटौँडा महाधिवेशनदेखि बहुपदीय संरचनामा गएको हो,’ भण्डारीले नेपालखबरसँग भने, ‘अहिले नयाँ बनाइएको विधानमा अलिअलि एमालेको संरचना मिसिएको देखिन्छ।’

माओवादीले अपनाउन खोजेका केही नयाँ प्रावधान एमालेको विधानसँग मिल्ने खालको रहेको उनले बताए।

पार्टीका केन्द्रीय समिति बाहेकका केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्च गरी ८ वटा निकायमा निर्वाचनबाटै नेतृत्व चयन गर्ने व्यवस्था भएको केन्द्रीय सदस्य भण्डारीले जानकारी दिए।

यसअघि मनोनितबाट ती पदहरुमा नियुक्त गरिन्थ्यो।

माओवादी केन्द्रका नेता राम कार्कीले विधान हेर्दा पार्टी अझै द्विविधामा रहेको देखिएको बताए।

‘हाम्रो पार्टी द्विविधामा देखिन्छ,’ कार्कीले नेपालखबरसँग भने, ‘एमालेको कार्यदिशा र संगठनात्मक संरचनाको नक्कल गरेर माओवादीको मौलिकता कहाँ रहन्छ? अहिले एमाले जहाँ पुगेको छ, त्यसको विकृति हाम्रो पार्टीमा पनि भित्र्याउनु राम्रो होइन।’

‘माओवादीले एमालेको देखासिकी गर्न थालेको छ। आफ्ना नेता कार्यकर्ता केपी ओलीको पार्टीमा नजाऊन् भनेजसरी विधान बनाएर कसरी अग्रगामी भइन्छ?’ कार्कीले प्रश्न गरे।

उनले विधान संशोधनमा सुझाव पठाउने बताए।

२०७३ जेठ ६ गते विभिन्न १० वटा कम्युनिस्ट घटकबीच एकता भएपछि नेकपा माओवादी केन्द्र बनेको थियो। नयाँ पार्टी बनेपनि माओवादीले बहुपदीयमा जाने निर्णय गर्न नसकेर नौ सदस्यीय हेडक्वार्टर बनाएको थियो।

सो हेडक्वार्टर पनि २०७४ भदौ १२ गते विघटन गरेर ९९ सदस्यीय सचिवालय बनाएको थियो।

त्यसपछि भने माओवादी केन्द्रले सोही वर्षको असोज १७ गते एमालेसँग चुनावी गठबन्धन गर्दै पार्टी एकता गर्ने सहमति गरेको थियो। २०७५ जेठ ३ गते एमालेसँग पार्टी नै एकता भएपछि नेकपा बनेको थियो।

माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चोलागाईँले भने अहिलेको विधानमा गरिएको उपमहासचिव लगायतको व्यवस्था स्वभाविक भएको बताउँदै एमालेको नक्कल नगरेको दाबी गरे।

‘हाम्रो पार्टीमा अध्यक्षात्मक प्रणाली लामो समय चल्यो,’ चौलागाईंले भने, ‘अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्षको कन्सेप्टमा हामीले पहिले काम गरिसकेका हौँ। तीनजना सचिव त पहिले नै बनाएका थियौं। नयाँ विधानमा कोषाध्यक्षको प्रावधान नभएकोले उपमहासचिवको व्यवस्था गरिएको हो। यो एमालेको नक्कल भन्न मिल्दैन।’

कोषाध्यक्षको काम आर्थिक विभागले गर्ने भएकोले त्यो पद हटाएर उपमहासचिव पद राख्दा कार्यविभाजन प्रभावकारी हुन्छ भन्ने निष्कर्ष रहेको उनले बताए।

सुरुमा महामन्त्रीको नेतृत्वमा चल्ने माओवादी पार्टी २०५७ पछि अध्यक्षात्मक प्रणालीमा गएको हो। एमालेले भने बुटवलमा भएको आठौँ महाधिवेशनबाट अध्यक्षात्मक प्रणाली अवलम्बन गरेको थियो।

अन्तरिम विधानलाई केन्द्रीय कमिटी, जिल्ला लगायतले छलफल गरेर विधान सम्मेलन वा विधानको लागि संगठनात्मक कार्यशाला राख्न आफूले सुझाव दिएको केन्द्रीय सदस्य चौलागाईंले बताए।

विधानलाई पटक पटक पुनर्लेखन गर्न नहुने उनको भनाइ छ।

तत्कालीन एमाओवादीले हेटौँडामा गरेको महाधिवेशनबाट १ सय ५१ केन्द्रीय समिति चयन गर्ने घोषणा गरेको थियो। यद्यपि महाधिवेशनमा भने ९७ जनालाई मात्र केन्द्रीय सदस्यको शपथ खुवाइएको थियो।बाँकी काठमाडौं गएर थप गर्ने भनेर छोडिएको थियो।

त्यसको ठ्याक्कै ९ वर्षपछि बनाइएको माओवादीको विधानमा भने २ सय ९९ केन्द्रीय सदस्य रहने व्यवस्थाको प्रस्ताव गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .