जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले महन्थ ठाकुर पक्षसँग जवाफ मागेको छ।
आयोगले १५ दिनभित्र उक्त विषयमा जवाफ दिन महन्थ पक्षलाई पत्र पठाएको निवार्चन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
'उपेन्द्र यादवले आधिकारिकता दाबी गरेपछि अर्को पक्ष (महन्थ ठाकुर) सँग आयोगले जवाफ मागेको छ,' श्रेष्ठले भने, 'आइतबार बसेको आयोगको बैठकले १५ दिनभित्र जवाफ दिन भनेको छ।'
आधिकारिकता दाबी गर्दै असार ४ गते यादव पक्ष निवार्चन आयोग गएको थियो।
यावद पक्षले ३० जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए। जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ।
यस अघि ठाकुर पक्षले कार्यकारिणी समिति हेरफेर गरेको भन्दै आयोगमा पत्र पेश गरेका थिए।
राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ मा एक पक्षले आधिकारिता दाबी गर्दै निवेदन दिए अर्को पक्षलाई १५ दिनको समय दिएर जवाफ माग्नुपर्ने व्यवस्था छ।
जेठ १८ गते यादव पक्षले ठाकुर पक्षका ४ जना र ठाकुरले यादवलाई पार्टीबाट निष्कासन गरेको भन्दै दलको दर्ता किताब अद्यावधिक निवेदन दिएका थिए।
आयोगले दुवैको कारबाहीलाई अस्वीकार गरेको थियो।
ठाकुर पक्षले आयोगमा पेश गरेको कागजपत्र किर्ते भएको भन्दै खण्डन गर्दै आएको छ।
'राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ४४ को उपदफा (२) बमोजिम निवेदन दावीका सम्वन्धनमा लिखित जवाफ पेश गर्नको लागि त्यस्तो दाबी तथा प्रमाणको प्रतिलिपि संलग्न गरी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनको सूचना दिने र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्ने', आयोगले भनेको छ।
Shares

प्रतिक्रिया