नेकपा एमालेका दुई पक्षबीच एकता प्रयास जारी रहेका बेला ओलीपक्षीय नेता गोकुल बाँस्कोटाले निराशा व्यक्त गरेका छन्।
उनले नेपाल पक्षलाई सहमतिमा ल्याउने प्रयासलाई ढुंगाको खिचडीको संज्ञा दिएका छन्।
अनि माधव नेपाल पक्ष आफ्ना सांसदले सर्वाेच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिन मान्दैन भने एकता प्रयास नै छाड्दिऊँ भनेका छन्।
‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरू नै थाके कि के हो? खिचडी पाक्ने त हो/होइन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन,’ पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले सोमबार दिउँसो सामाजिक सञ्जालमा लेखेका छन्, ‘अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्ने। त्यो नमान्ने भए भो छोडदिम्, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम।’
एमाले एकता जोगाउन सकिन्छ कि भनेर अहिले ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेता भरमग्दुर प्रयास गरिरहेका छन्। दैनिक वार्ता गरिरहेका छन्, तर अहिलेसम्म निष्कर्ष निस्किन सकेको छैन।
त्यसका लागि माधव नेपाल पक्षका २० सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिनुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा हालेको रिट निवेदनमा गरेको हस्ताक्षर र्फिता लिनुपर्ने ओली पक्षको माग छ।
ओलीले पार्टीलाई जेठ ३ गतेपूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै माधव नेपालसमक्ष ६ बुँदे प्रस्ताव राखेका छन्। तर यसलाई नेपाल पक्षले अस्वीकार गरिसकेको छ।

प्रतिक्रिया