ad ad

राजनीति


गण्डकीमा मन्त्रिमण्डलले अझै पाएन पूर्णता, थप अप्ठ्यारोमा मुख्यमन्त्री

गण्डकीमा मन्त्रिमण्डलले अझै पाएन पूर्णता, थप अप्ठ्यारोमा मुख्यमन्त्री

नेपालखबर
असार ६, २०७८ आइतबार ११:२१,

गण्डकी प्रदेशमा जेठ २९ गते नयाँ सरकार गठन भयो। पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा बहुमत सिद्ध गर्दै सरकारको नेतृत्वमा आएका हुन्।

मुख्यमन्त्रीसँगै नेपाली कांग्रेसका कुमार खड्का, नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) ले पनि विनाविभागीय मन्त्रीको रुपमा शपथ लिए।

तर दलहरुले सरकारमा जाने मन्त्रीको नाम टुंग्याउन नसक्दा पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् भने शपथ लिएका मन्त्रीलाई पनि कुनै मन्त्रालयकाे जिम्मेवारी दिन सकेका छैनन्।

गण्डकीमा ७ मन्त्रालय रहँदै आएकोमा गत वैशाख १६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै तत्कालीन मुख्यमन्त्री गुरुङले मन्त्रालयहरुको कार्यविभाजन नियमावली संशोधन गरेर ११ मन्त्रालय पुर्‍याएका थिए।

जसअनुसार नेपाली कांग्रेस र माओवादी केन्द्रले ४/४ र जसपाले २ मन्त्रालय पाउने समझदारी गरिएको छ। प्रदेश सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने घोषणा गरिसकेको छ।

प्रदेश सभामा जसपाका २ जना सांसद छन्। जसपा सांसद आचार्यले विनाविभागीय मन्त्रीको शपथ लिइसकेका छन् भने एक जना धनमाया लामा मन्त्री बन्ने सहमति भएको छ।

जसपा र नेपाली कांग्रेसबीच पनि मन्त्रालय बाँडफाटबारे सहमति भएको छ। विनाविभागीय मन्त्री आचार्यसँग मुख्यमन्त्री पोखरेलले अर्थसहित दुई मन्त्रालय दिने सहमति गरेका छन्।

तर नेपाली कांग्रेस र माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी धेरै हुँदा अहिलेसम्म नाम टुंगिन नसकेको नेताहरुको भनाइ छ।

प्रदेश सभामा कांग्रेसका १५ सांसद छन् भने माओवादी केन्द्रका सभामुखसहित ११ सांसद छन्।

माओवादी केन्द्रका ११ सांसदमध्ये १ जना मधुमाया अधिकारीले शपथ लिइसकेकी छन्। माओवादीका अन्य सबै १० जना सांसद मन्त्रीका आकांक्षी हुन्।

माओवादीबाट कास्कीका रामजी बराल जीवन, दीपक कोइराला मन्त्रीका प्रमुख दाबेदार हुन्। यसअघि मन्त्री भइसकेका हरिबहादुर चुमान पनि मन्त्री बन्ने लबिङमा छन्।

माओवादी सांसद गायत्री गुरुङ कुसुमले मन्त्रीका लागि बलियो दाबी गर्दै आएकी छन्। उनले जनयुद्धको सुरुदेखि भूमिगत भएर राजनीतिमा सक्रिय रहँदा पनि आफू अवसरबाट बन्चित रहनुपरेको गुनासो गर्ने गरेकी छन्।

माओवादीको प्रदेश समितिले नाम टुंग्याउन नसकेपछि मन्त्री छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ।

नेपाली कांग्रेसले पनि मन्त्रीको नाम टुंग्याउन सकेको छैन। कांग्रेसबाट कुमार खड्काले शपथ लिइसकेका छन् भने सो पार्टीबाट मन्त्रिपरिषदमा अझै दुई जना सहभागी हुन बाँकी छ।

कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, मेखलाल श्रेष्ठ, दोबाटे विश्वकर्मा मन्त्रीका प्रमुख दाबेदार हुन्। कांग्रेसभित्रको गुट मिलाउने सकसका कारण पनि मुख्यमन्त्रीलाई मन्त्री छान्न थप अप्ठ्यारो परेको हो।

मुख्यमन्त्री पोखेरेल आज गृहमन्त्री खगराज अधिकारीले बोलाएको छलफलमा सहभागी हुन काठमाडौं आएका छन्। यति नै बेला आफ्नो पार्टीबाट मन्त्रीको नाम टुंग्याएर प्रदेश फर्किने योजनासहित राजधानी आएको उनीनिकट स्रोतको भनाइ छ।

प्रदेश अर्थ मन्त्रालयमा कांग्रेस र माओवादीको पनि दाबी छ। तर मुख्यमन्त्री पोखरेलले जसपालाई अर्थमन्त्रालय दिने सहमति जनाएका कारण उनी थप सकसमा परेको एक नेताले बताए।

यो पनिः
कांग्रेसले अर्थ मन्त्रालयमा दाबी गरेपछि गण्डकीमा जसपाले दियो समर्थन फिर्ताको चेतावनी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .