राजनीति


पोखरेलका पक्षमा बहुमत हस्ताक्षर, सनाखतपछि प्रदेश प्रमुखले भनिन्– भोलि बोलाउँछु

पोखरेलका पक्षमा बहुमत हस्ताक्षर, सनाखतपछि प्रदेश प्रमुखले भनिन्– भोलि बोलाउँछु

वाशुदेव मिश्र
जेठ २८, २०७८ शुक्रबार १२:४०,

विपक्षी गठबन्धनका उम्मेदवार कृष्णचन्द्र पोखरेल नेपालीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउन समर्थन गर्ने ३१ सांसदको हस्ताक्षर सनाखत भएको छ।

विपक्षी गठबन्धनका तर्फबाट अघि सारिएका नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेललाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ जनाले हस्ताक्षर गरी बुझाएका हुन्।

उनीहरुको हस्ताक्षर प्रदेश प्रमुख सीता पौडेलको कार्यालयले सनाखत गरेको छ।

‘हामीले निवेदन दर्ता गरायौं। ३१ जनाकै हस्ताक्षर सनाखत भयो। प्रमुखले अब भोलि ३ बजेसम्म बोलाउँछु भन्नूभएको छ,’ कांग्रेसका सचेतक मणिभद्र कँडेलले प्रदेश प्रमुखको कार्यालयबाट निस्कने क्रममा भने।

सांसद सशरिर नै प्रदेश प्रमुख पौडेलसामु उपस्थित भएर पोखरेलप्रति समर्थन जनाएका थिए।

६० सदस्यीय प्रदेश सभाका बहुमत सदस्य उनको पक्षमा देखिएका छन्।

‘पोखरेलको पक्षमा बहुमत सांसदको हस्ताक्षर सनाखत नै भएको हुँदा भोलि संभवतः मुख्यमन्त्रीको नियुक्ति नै हुन्छ,’ हस्ताक्षर बुझाउन सहभागी अर्का एक सांसदले बताए।

नेपाली कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र निर्वाचित भएका दीपक मनाङे गरी उनको पक्षमा ३१ जनाको समर्थन जुटेको हो।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउँ भन्ने प्रस्तावमाथि बिहीबार प्रदेश सभामा मतदान भएको थियो। गुरुङको प्रस्तावमा बहुमत प्राप्त नभएपछि उनी स्वतः पदमुक्त भएका छन्। त्यसपछि नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु भएको हो।

यो पनिः
पोखरेललाई गण्डकीको मुख्यमन्त्री प्रस्ताव गर्न प्रदेश प्रमुखको कार्यालय पुगे बहुमत सांसद (भिडिओ)

गण्डकीको मुख्यमन्त्रीमा दाबी गर्न दिइयो भोलि ३ बजेसम्मको समय, विपक्षी गठबन्धन तयारी अवस्थामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .