प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा महेश बस्नेतलाई मन्त्री नबनाएकामा एमालेको भ्रातृ संगठन युवा संघका अध्यक्षले आक्रोश व्यक्त गरेका छन्।
मन्त्रिपरिषद् विस्तार गरिएको भोलिपल्ट शुक्रबार युवा संघका अध्यक्ष किरण पौडेलले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलक्षित आक्रोश भाव व्यक्त गरेका हुन्।
पौडेल लेख्छन्, ‘राणाकालीन तथा मध्य शाह वंशीयकालीन इतिहासका पानामा पढ्ने गरेका षड्यन्त्र, दाउपेचका कथाहरूको झझल्को दिने अनेक हत्कण्डाहरू आज हाम्रै पुस्ताका नेताका विरुद्ध, हाम्रा तमाम युवाहरूका कमान्डरविरुद्ध रहँदा युवा पुस्तामा हामी र हाम्राविरुद्ध मात्र हैन, सिंगो राजनीतिविरुद्ध वितृष्णा पैदा हुनेछ।’
पौडेलको स्टाटस जस्ताको तस्तै :
राणाकालीन तथा मध्य शाह वंशीयकालीन इतिहासका पानामा पढ्ने गरेका षड्यन्त्र, दाउपेचका कथाहरूको झझल्को दिने अनेक हत्कण्डाहरू आज हाम्रै पुस्ताका नेताका विरुद्ध, हाम्रा तमाम युवाहरूका कमान्डरविरुद्ध भइरहँदा युवा पुस्तामा हामी र हाम्राविरुद्ध मात्र हैन, सिंगो राजनीतिविरुद्ध वितृष्ण पैदा हुनेछ।
यस्ता पात्र र प्रवृत्तिबाट युवा पुस्ताको ऊर्जामा पानी खन्याउने काम हुँदै छ र यो परिस्थिति अन्त्य नहुँदासम्म युवा पुस्ताको क्रियाशीलता, इमान्दारिता, योग्यता र क्षमताले कहिल्यै स्थान पाउने छैन।
राजनितिक विकृति, विसंगतिका यी विषयहरू पनि अब युवा पुस्ताको गम्भीर चासो र सरोकारको विषयका रूपमा दर्ज हुनेछन्।
यो पनि : मन्त्री बन्न नपाएपछि महेश बस्नेतले गुट फेर्न लागेका हुन्?

प्रतिक्रिया