विवेकशील साझा पार्टीले चिकित्सा शिक्षा ऐनलाई कुल्चिँदै एक निजी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रयास गरिएको भन्दै आपत्ति जनाएको छ।
शुक्रबार विज्ञप्ति प्रकाशित गरी विवेकशील साझाले मेडिकल शिक्षाका विकृतिहरू अन्त गर्नका लागि लामो संघर्षपछि २०७५ सालमा ल्याइएको चिकित्सा शिक्षा ऐनलाई सरकारले कुल्चिएको आरोप लगाएको छ।
‘स्वायत्त हुनुपर्ने चिकित्सा शिक्षा आयोगमाथि ठाडो हस्तक्षेप गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आयोग पदाधिकारीहरूलाई अवैध काम गर्न निरन्तर दबाब दिएको र त्यसका कारण आयोग नै धराशायी हुने अवस्थामा पुगेको’ सो पार्टीको भनाई छ।
‘प्रधानमन्त्रीको यो सम्भावित कदम निकै गम्भीर छ। व्यक्ति विशेषका लागि मुलुकको कानुन कुल्चँदै र नियामक निकायहरूलाई धराशायी बनाउँदै जाने शृङ्खलाले कसैगरी थप निरन्तरता पाउनु हुँदैन’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा देश दण्डहीनता र अराजकताको थप सिकार बनी संस्थाहरू असफल हुनेछन्। जसको कारण अन्ततः देशनै असफल हुने दिशामा जाने छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन खोजिएको भन्दै त्यसप्रति आलोचना भइरहेको छ। सो कदमविरुद्ध वरिष्ठ चिकित्सक डा. गोविन्द केसी समर्थक र नागरिक अभियान्ताहरुले प्रदर्शन गर्दै आएका छन्।

प्रतिक्रिया