ad ad

राजनीति


नैनकलालाई मन्त्री बनाएकोमा पूर्वमाओवादीमा असन्तुष्टि, भन्छन्– यो धोका हो

नैनकलालाई मन्त्री बनाएकोमा पूर्वमाओवादीमा असन्तुष्टि, भन्छन्– यो धोका हो

सागर न्यौपाने
जेठ २७, २०७८ बिहिबार १६:२,

केहि दिनपहिले गृहमन्त्री पदबाट बाहिरिएका रामबहादुर थापाले आफ्नै श्रीमती नैनकला थापालाई मन्त्री बनाएको भन्दै उनी पक्षका नेताहरु असन्तुष्ट बनेका छन्।

पुर्वमाओवादी खेमाको नेतृत्व गर्दै एमालेमा प्रवेश गरेका थापाले बिहीबार भएको मन्त्रिपरिषद् पुनर्गठनमा नैनकलालाई समावेश गराउन सफल भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर छलफलमा रहेका थापाले अन्य नेताहरुको कुरै नसुनी राजनीतिमा सक्रिय नरहेकी श्रीमतीलाई मन्त्री बनाएपछि सो गुटमा तरङ्ग पैदा भएको नेता नविन रोकामगरले बताए।

‘यसले पार्टीमा तरङ्ग पैदा गरेको छ,’ रोकामगरले नेपालखबरसँग भने, ‘हाम्रो पूर्वमाओवादीका नेता कार्यकर्ता असन्तुष्ट छन्। नेतृत्वले आफैँ डिल गरेर छलछाम गरेको देखियो।’

अर्का एक नेताले थापा प्रचण्डकै बाटोमा हिँडेको आरोप लगाए।

‘हिजो प्रचण्डलाई परिवारवादको आरोप लगाउने बादल आफैँले श्रीमतीभन्दा अरुलाई योग्य नदेख्नु दुःखद हो,’ ती नेताले भने।

तर, पूर्वमन्त्री दावा तामाङले भने माओवादीभित्र आफ्नै श्रीमतीलाई मन्त्री बनाउने प्रचलन नयाँ नभएको बताए। उनले त्यस्तो घट्नाको यो पाँचौ संस्करण भएको व्याख्या गरे।

‘अहिले बादललाई गाली गर्नुको अर्थ छैन,’ तामाङले भने, ‘शान्ति प्रक्रियामा आएपछि माओवादीका बाबुराम भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत र गणेशमान पुन चार नेताका श्रीमती पनि मन्त्री भएकै हुन्, बादलले पनि त्यसैलाई पछ्याउँदै श्रीमतीलाई मन्त्री बनाए, यो पाँचौ संस्करण हो।’

यसअघि भट्टराई पत्नी हिसिला यमी, पुन पत्नी ओनसरी घर्ती, बस्नेतकी पत्नी सत्या पहाडी र गणेशमान पुनकी पत्नी कमला रोका मन्त्री भएका थिए।

त्यसो त ती सबै महिला नेतृहरुको आफ्नै राजनीतिक सक्रियता र योगदान रहेको कुरा पनि नकार्न सकिँदैन। नैनकला थापाको सक्रियता उनीहरुको राजनीतिक योगदानसँग तुलना गर्न नमिल्ने माओवादी नेताहरुको भनाइ छ।

तामाङले पनि पूर्वमाओवादी खेमाभित्र यसले केही बहस र छलफल भने गराउने स्वीकारे।

‘अलिअलि छलफल बहस त जहाँपनि चलिहाल्छ नी, सबै सन्तुष्ट हुन्छन् भन्ने पनि छैन,’ तामाङले भने।

माओवादी केन्द्र छोडेर थापासहित लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी लगायतका २३ जना एमाले प्रवेश गरेका थिए।

यो पनिः १५ वर्षपछि राजनीतिमा फर्किंदा नैनकला सिधै मन्त्री

एमाले प्रवेश गरेपछि उनीहरुलाई माओवादीले कारबाही गर्‍यो। उनीहरुमध्ये पाँच जनाको सांसद पद गुम्यो।

ओलीले तीमध्ये ७ जनालाई मन्त्री बनाए।

तर, सर्वाेच्च अदालतमा त्यसविरुद्ध मुद्दा पर्यो‍। अदालतले ती मन्त्रीहरुलाई काम नगर्न भनी अन्तरिम आदेश दियो। उनीहरुको पद गयो।

त्यसपछि ओलीले जेठ २१ गते जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका १० जनालाई मन्त्री बनाए।

पूर्वमाओवादी पक्षलाई दिइएको मन्त्रालयमध्ये तीनवटा मन्त्रालय दाबी गर्दै आएका थापाले त्यसका लागि ओलीसँग छलफल गरिरहेका थिए।

तर, आफ्नै श्रीमतीलाई मन्त्री बनाएपछि उनी पक्षका नेताहरुमा असन्तुष्टि चुलिएको हो।

त्यसो त बिहीबार विस्तार भएको मन्त्रिमण्डलमा ज्वालाकुमारी साह पनि थपिएकी छन।

प्रदेश २ की प्रदेश सांसद उनी एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेपछि पदमुक्त भएकी थिइन्।

‘निषेधले दम्भ र अहंकारले नयाँ विद्रोह जन्माउँछ, व्यक्तिवादी चिन्तनले समस्या पार्छ, अहिले बादल दाईले त्यस्तै गर्नुभयो, हामीले अन्तिम समयसम्म उहाँलाई दिएको साथमा यो धोका हो,’ अर्का एक माओवादी नेताले भने।

यसबारेमा पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी र लेखराज भट्टले भने कुनै प्रतिक्रिया दिन चाहेनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .