ad ad

राजनीति


१५ वर्षपछि राजनीतिमा फर्किंदा नैनकला सिधै मन्त्री

१५ वर्षपछि राजनीतिमा फर्किंदा नैनकला सिधै मन्त्री

नेपालखबर
जेठ २७, २०७८ बिहिबार १२:१७,

भनिन्छ, १२ वर्षमा खोलो पनि फर्किन्छ।

नवनियुक्त सञ्चारमन्त्री नैनकला थापाको हकमा पनि यो भनाइ चरितार्थ भएको छ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा प्रवेशसँगै वर्षौँपछि नैनकलाको सक्रिय राजनीतिमा पुनरागमन भएको हो।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती उनी विगत १५ वर्षयता सक्रिय राजनीतिमा देखिएकी थिइनन्।

यति लामो राजनीतिक ‘ग्याप’पछि थापाले जनताको सेवा गर्ने अवसर पाएकी हुन्।

यसबीचमा नैनकला घरगृहस्थीमै व्यस्त भइन्।

तत्कालीन नेकपा माओवादीको जनयुद्धका बेला नैनकला दम्पती सँगसँगै युद्धमा होमिएको थियो।

युद्धका बेला नेताहरुमा सांस्कृतिक विचलन नआओस् भनेर श्रीमतीलाई पनि सँगै हिँडाउने पार्टीको नीति नै थियो। सोहीअनुसार बादलसँगै युद्धमा लागेकी थिइन् उनी।

त्यसले नैनकलाको राजनीतिक उचाइ बढाएको थियो। फलतः उनले महिला संघको अध्यक्ष बन्ने अवसर पाइन्।

शान्ति प्रक्रियामा आएपछि भने उनको राजनीतिक सक्रियता जम्न सकेन।

पार्टीको केन्द्रीय सल्लाहकार समितिको सदस्य बन्ने र २०६४ देखि २०६८ सम्म राष्ट्रिय महिला आयोगको अध्यक्ष बन्नेबाहेक उनी सक्रिय राजनीतिबाट ओझेल परिन्।

बुटवलमा जन्मेकी नैनकलाले बीए र बीएडसम्मको अध्ययन गरेकी छिन्।

सक्रिय राजनीतिमा नरहेका बेला उनले कालिका मा.वि. बुटवल र नारायणी मावि चितवनमा अध्यापन समेत गरिन्।

खुल्यो सक्रिय राजनीतिको ढोका
तर फेरि एकपटक नैनकलालाई सक्रिय राजनीतिमा फर्किने अवसर मिलेको छ। ओली क्याबिनेटमा स्थान पाउनु यसैको उदाहरण हो।

थापाले बिहीबार सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै उनलाई राजनीतिमा सक्रिय हुने बाटो समेत खुलेको छ।

माओवादी आन्दोलनकी नेतृ जयपुरी घर्ती नैनकलालाई एक इमानदार मान्छे भन्न रुचाउँछिन्।

‘राजनीतिक रुपमा पछिल्लो समय उहाँ निष्क्रिय हुनुहुन्थ्यो’, घर्तीले नेपालखबरसँग भनिन्, ‘पढेलेखेका कारण कुनै पनि जिम्मेवारी राम्रैसँग गर्नुहुन्छ जस्तो लाग्छ।’

Nainakala thapa2021

श्रीमानको रोजाइमा जुरेको अवसर
सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र मिलेर बनेको ‘नेकपा’ खारेज भएसँगै ब्युँतिएको एमालेमा प्रवेश गरेपछि माओवादी केन्द्रले आफ्ना नेता बादललगायतलाई कारबाही गर्यो।

त्यसपछि बादलले सांसद पद गुमाए। तर, एमाले अध्यक्ष ओलीले पूर्वमाओवादीबाट आएका ७ नेतालाई पुरस्कृत गर्दै मन्त्री बनाए।

त्यसविरुद्ध फेरि सर्वाेच्चमा मुद्दा प¥यो। अदालतले तत्काल मन्त्रीहरुलाई कार्य नगराउन निर्देशन दियो। अनि बादलसहित सातै जनाको मन्त्री पद पनि गुम्यो।

पार्टीको आन्तरिक किचलोले अप्ठ्यारोमा परेका ओलीले रिक्त सात मन्त्रालय जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई दिए।

तर, बादलले ओलीसमक्ष पूर्वमाओवादीबाट पनि मन्त्री बनाउनुपर्ने माग राखे। ओलीसँग ‘वान टु वान’ छलफल गरे।

पूर्वमाओवादीले तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको बादलले आफूनिकटस्थ नेताहरुलाई बताएका थिए।

सुरुमा उनले सुदूरपश्चिम, प्रदेश २ र वाग्मती वा लुम्बिनी प्रदेशबाट मन्त्री बनाउने तयारी गर्न नेताहरुसँग छलफल नगरेका होइनन्।

तर, बिहीबार मन्त्रीमा सिफारिस गर्ने बेला बादलले श्रीमती नैनकलाको नाम पठाए। थापासँगै प्रदेश २ बाट ज्वालाकुमारी साह पनि मन्त्री बनिन्।

‘अरुलाई बदल्ने कुरा गर्थे, आफैँ बदलिए’
आफ्नै श्रीमतीलाई मन्त्री बनाएपछि बादल पक्षका नेताबीच भने असन्तुष्टि देखिएको छ।

‘नेपाली राजनीतिमा अनैतिक काम भनेकै यही हो’, उनीनिकट एक नेताले भने, ‘समस्या पर्दा नेता कार्यकर्ता खोज्ने, अवसर आउने बेला गोजीका मान्छे हुल्ने?’

यसप्रति असन्तुष्टि पोख्ने ती नेता रुपान्तरण गर्न आएका नेताहरु आफैँ रुपान्तरित भएको बताउँछन्।

‘अरु बदल्ने कुरा गर्थे, आफैँ बदलिए’, उनले थपे, ‘आफ्नै घरकालाई मन्त्री बनाएर सुरुवात गरे।’

पार्टीमा यसले प्रणाली नै भत्काउन सुरु गरेको अर्का एक नेताले बताए ।

‘सत्ताभन्दा बाहिर केही रहेनछ भन्ने नेताहरुमा परेजस्तो छ’, ती नेताले भने, ‘अवसर र सत्ताको लागि अरुको विश्वास नै नगर्ने चरणमा नेताहरु पुगेछन्, यो दुःख लाग्दो कुरा हो।’

निकटस्थ दुई नेताको उक्त धारणाले पनि बादल पक्षका नेताहरुबीच असन्तुष्टि चुलिएको देखाउँछ।

राजनीतिबाट लामो समय निष्क्रिय रहेकी नैनकलालाई फेरि सक्रिय बनाउन खोजिएको हो कि वा अरु कोही योग्य नेता छैनन् भनेर त्यसो गरिएको हो, बुझन् नसकेको नेता नविन रोकामगरले बताए।

‘बादल दाइमा हामीले राजनीतिक संस्कार देखेका थियौँ’, रोकामगरले नेपालखबरसँग भने, ‘तर, उहाँले मन्त्री बनाउने कुरामा जसरी निर्णय लिनुभएको छ, यसले ऊर्जाशील र क्षमतावान् नेताहरुलाई दुःखित बनाएको छ।’

बादल पक्षका नेताहरु उनले कसैसँग सल्लाह नै नगरी श्रीमतीलाई मन्त्री बनाएको बताउँछन्।

‘उहाँले सिधै प्रधानमन्त्री ओलीसँग डिल गर्नुभएको हो, कति संख्या हाम्रोमा पर्थ्याे, त्यो त हामीलाई थाहा भएन तर आफ्नै श्रीमतीलाई मन्त्री बनाउनु शोभनीय भएन’, अर्का नेताले संक्षिप्त प्रतिक्रिया दिए।

१५ वर्षदेखि घरगृहस्थीमै व्यस्त नैनकलाको राजनीतिक जीवनले अब भने नयाँ मोड लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .