राजनीति


कांग्रेस सभापति देउवाले भने : भदौमा महाधिवेशन सम्पन्न गर्न प्रतिवद्ध छु

कांग्रेस सभापति देउवाले भने : भदौमा महाधिवेशन सम्पन्न गर्न प्रतिवद्ध छु

नेपालखबर
जेठ २६, २०७८ बुधबार ११:२९,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन भदौमै हुने बताएका छन्।

सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु— २०७८ साल भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिवद्ध छु।'

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएको आफूले बुझेको बताएका छन्।

'महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको मैले सुनेको छु। पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति किमार्थ उचित होइनन्', उनले भनेका छन्, 'महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन। बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो। यसका लागि सबै जिम्मेवार हुनु पर्दछ।'

उनले महाधिवेशनका लागि बढी समय नभएको बताउँदै असार र साउन दुई महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी गर्नु पर्ने बाताएका छन्।

'पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ। यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन्। पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने छन्', उनले भनेका छन्।

उनले पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमिति, पार्टीको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरु, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्था, विदेश स्थित जनसम्पर्क समितिलाई महाधिवेशन सम्पन्न गर्नेबारे कुनै पनि भ्रममा नपर्न भनेका छन्।

यो पनि:
कांग्रेस महाधिवेशन मिति नजिकिँदै, कहाँ अड्कियो तयारी?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .