नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमा फर्किन लागेको भन्ने खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
मंगलबार बिहान विज्ञप्ति जारी गरी उनले केही सञ्चारमाध्यममा आएजस्तो आफू फेरि माओवादी केन्द्रमा आउन लागेको भन्ने खबर झुटो भएको जानकारी दिएका हुन्।
यसअघि माओवादी केन्द्रका नेता रायमाझी हालै नेकपा एमाले ओली समूहमा प्रवेश गरेका हुन्।
अहिले पुनः माओवादी केन्द्रमै फर्किन लागेको भन्ने समाचार आउन थालेपछि नेता रायमाझीले आफू कुनै हालतमा नफर्किने जनाउ दिएका हुन्।
‘पछिल्लो समय केही सञ्चारमाध्यमहरूबाट मेरो नाम जोडेर नेकपा (माओवादी केन्द्र) मा फर्किन लागेको भनेर आएका आधारहीन, भ्रमपूर्ण एवं कपोलकल्पित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ रायमाझीले भनेका छन्, ‘क. प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रूपमा नै विचलित भई सिंगो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अगाडि बढाउँदै कांग्रेस (देउवा) को शरणागतमा पुगेको स्थिति छ।’
विज्ञप्तिमार्फत उनले विघटन घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रमा नआउन अरूलाई समेत आग्रह गरेका छन्।
मुलुकको सुशासन र समृद्धि तथा नेपाली कम्युनिस्ट आन्दोलनका लागि आफू केपी ओली नेतृत्वकै एमालेमा रहने उनले उल्लेख गरेका छन्।
विज्ञप्तिमा लेखेका छन्, ‘सुशासनसहितको स्थिरतामार्फत मुलकमा दिगोरचौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा एवं विकासका लागि अहिले हामी क। केपी ओलीको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा नै रहेकाले औपचारिक रूपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रको आयु बढाउन गरिएका यी र यस्ता भ्रम एवं षडयन्त्रपूर्ण झान्सामा नआउन सम्पूर्ण आदरणीय देशभक्त एवं प्रगतिशील महानुभावहरूरजनसमुदायमा हार्दिक अनुरोध/अपिल छ।’

प्रतिक्रिया