ad ad

राजनीति


आफ्नै पक्षका नेताहरुको ढुलमुले व्यवहारबाट माधव नेपाल असन्तुष्ट

आफ्नै पक्षका नेताहरुको ढुलमुले व्यवहारबाट माधव नेपाल असन्तुष्ट

मणि दाहाल
जेठ १९, २०७८ बुधबार १६:११,

नेकपा एमाले फुटको निर्णायक विन्दुमा पुगेका बेला आफूनिकट दोस्रो पुस्ताका नेताहरुको ढुलुमले व्यवहारबाट माधवकुमार नेपाल असन्तुष्ट भएका छन्।

अध्यक्ष केपी ओली र उनी पक्षका नेताहरुसँग भएका पटकपटकका वार्ता, छलफल र समझदारीपछि अब पार्टी एक ढिक्का रहन नसक्ने निष्कर्षमा नेपाल पुगिसकेका छन्। तर, उनको पक्षका दोस्रो तहका प्रभावशालीहरु नेताहरु भने अझै पनि ओलीपक्षका नेताहरुसँग संवाद गरिरहेका छन्।

सोमबार राति नेपालनिकट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टले ओली समूहका सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीसँग होटल याक एन्ड यतीमा चार घण्टा छलफल गरेका थिए। त्यसैगरी योगेश भट्टराईले बुधबार मात्रै पार्टी महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल गरेका थिए।

यस्तो निर्णायक घडी आइसक्दा पनि ती नेताहरुले निर्णय गर्न नसकेका कारण नेता नेपाल असन्तुष्ट देखिएका हुन्।

वार्ताका लागि गठित कार्यदलका संयोजक भीम रावललाई नै ओलीले निष्काशन गरिसकेपछि ओली पक्षसँग वार्ता गर्नुको कुनै अर्थ नभएको नेपालको भनाइ छ।

यसै साताको सुरुमा जनवर्गीय संगठनहरुको आयोजना गरेको भर्चुअल कार्यक्रममा गोकर्ण विष्टले पार्टी एकता कायम राख्न प्रयास गर्ने बताएपछि नेता नेपालले तीन दिनभित्र उनलाई सहमति खोज्न भनेका थिए।

उनले आफूनिकटका नेताहरुलाई बालुवाटारको बालुवाबाट तेल ननिस्किने बताउँदै आएका छन्। उनी संसद्बारे अदालतको फैसला लगत्तै नयाँ पार्टी गठन गर्ने तयारीमा छन्।

पाण्डे, भुसाल, विष्ट र भट्टराईले ओली पक्षसँग जारी राखेको संवादलाई नेपाल समूहका कार्यकर्ता पंक्तिले पनि मन पराएको छैन।

नेपाल निकट केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले वार्तामा नेपालको तर्फबाट प्रतिनिधि गरिरहेका नेताहरुले फरक फरक कुरा गर्ने गरेको बताए।

‘एकै दिनमा ओलीले सबै खत्तम पारे भन्नु हुन्छ। फेरि जसरी पनि मिल्नुपर्छ भन्नु हुन्छ,’ खतिवडाले नेपालखबरसँग भने, ‘हिजोदेखि हामीले उठाइरहेको सबै एजेन्डालाई ठिक मान्ने तर व्यवहारमा भने एजेन्डा छाडेर सम्झौता गर्न तयार हुने। यो प्रवृत्ति कतिखेर झुल्किन्छ र कतिखेर अस्ताउँछ भन्ने नै थाहा नहुने भयो। यसले गर्दा निर्णय गर्न अप्ठेरो भएको छ।’

नेता नेपालको आफू निकट जनवर्गीय संगठनका प्रमुखहरुसँगको छलफलमा ओलीले अप्ठेरोमा परेपछि वार्ताको कार्ड फालेको बताएका थिए।

‘अहिले परिस्थिति केही प्रतिकूल हुने देखेर वार्ता सुरु गर्न खोजिएको हो,’ नेता नेपालले भने ‘राजावादी र भारतको इसारामा गतिविधि गरिरहेका ओलीलाई कांग्रेस, माओवादीसहित हामीले सञ्चालन गरेका गतिविधिले अप्ठेरो परेपछि वार्ता गरौँ भनेर आएका हुन्।’

नेपाल पक्षले २०७५ जेठ २ को एमालेका संगठनात्मक संरचना ब्युँताउनु पर्ने माग राख्दै आएको थियो। सुरुमा त्यसमा असहमत ओलीले पछि मागबारे सकारात्मक रहेको बताएका थिए। तर, पछिल्लो समय उनले यसका लागि नयाँ सर्त अघि सारेका छन्।

सोमबार भएको छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने र नेता नेपाल सहमति मानेर नआए त्यसलाई क्रस गरेर जाने सक्ने वा नसक्ने विषयमा नेपाल पक्षका नेताको धारणा ओली पक्षले मागेको थियो। जसमा पाण्डे, विष्ट र भट्टराईले सकिने र भुसालले छलफलपछि यस विषयमा आफ्नो धारणा राख्ने बताएका थिए।

केन्द्रीय सदस्य खतिवडाले अहिले छलफलमा रहेका नेताहरु मात्र दोस्रो पुस्ताको प्रतिनिधि नभएको बताए।

‘भीम रावललाई कारबाही गरेर पार्टीको साधारण सदस्यबाट समेत निष्काशन गरेपछि कार्यदलको औचित्य सकिइसकेको छ। कसैले छलफल गरेर अघि बढाउन चाहन्छ भने त्यो सद्भावना मात्रै हो,’ खतिवडाले भने, ‘जसलाई तपाईंहरु सेकेन्ड जेनेरेसन भन्दै हुनुहुन्छ पार्टीमा त्यति मात्रै होइन। नेतृत्वमा उहाँहरु मात्रै होइन, अन्य नेताहरु समेत हुनुहुन्छ। उहाँहरुले सबैको प्रतिनिधित्व गर्नु हुन्न। उहाँहरुले नेपाल–खनालसँग रहेका केन्द्रीय सदस्य तथा सांसदहरुसँग व्यापक विचार विमर्श गरेपछि मात्रै हाम्रो प्रतिनिधित्व गर्नु हुन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .