राजनीति


संकटमा गोरखालीको साथी बन्दै नारायणकाजी

संकटमा गोरखालीको साथी बन्दै नारायणकाजी

नेपालखबर
जेठ १९, २०७८ बुधबार ९:२७,

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जेठ २ गते गोरखाका विभिन्न ठाउँमा स्थानीयहरु धमाधम बिरामी पर्न थालेको सूचना आयो।

लगत्तै उनले त्यहाँ रहेका स्वास्थ्य कार्यालय, त्यसमा कार्यरत स्वास्थ्यकर्मी, औषधिको अवस्थालगायत सबै जानकारी लिए।

कोरोना संक्रमण बढ्न नदिन काठमाडौं उपत्यकामा समेत निषेधाज्ञा लगाइएको थियो।

यही बेला गोरखाका विभिन्न गाउँपालिका र नगरपालिकामा स्थानीयहरु बिरामी परेपछि कोरोना परीक्षण गर्नुपर्ने उनी निष्कर्षमा पुगे। केही डाक्टर र ल्याब टेक्निसियनसँग छलफल गरे।

कोरोना पत्ता लगाउन सबैभन्दा छिटो विधि मानिने एन्टिजेनसहित तिनै डाक्टर र ल्याब टेक्निसियन लिएर गोरखा जाने तयारी गरे।

narayankaji sankatka sathi2

आवश्यक किट खरिद गरे। केही सामग्री स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर लिए।

त्यसपछि जेठ ३ गते उनी गोरखा हानिए।

उनी कोरोनाले प्रभावित गोरखाको विभिन्न गाउँपालिका पुगे। त्यहाँका नागरिकको एन्टिजेन परीक्षण गर्दै संक्रमितलाई उपचारको व्यवस्था मिलाए।

दुई जना चिकित्सक, ल्याब टेक्निसियनसहित काठमाडौंबाट पहिलो चरण जेठ ३ र दोस्रो चरण जेठ १५ गरी उनी दुईपटक गोरखाका विभिन्न गाउँपालिका पुगेका हुन्।

जेठ ४ गतेबाट गोरखा आँपपिपल अस्पताल, जौबारी भचेक प्राथामिक स्वास्थ्य केन्द्रमा परीक्षण सुरु भयो।

narayankaji sankatka sathi3

कुल १ सय ४० जनाको परीक्षण गर्दा २४ जना संक्रमित रहेको पुष्टि भयो।

जेठ ५ गते बारपाक प्राथामिक स्वास्थ्य केन्द्र र शिरानचाेक गाउँपालिका चिलाउनेमा १ सय २७ जनाको परीक्षण हुँदा ४८ जना संक्रमित देखिए।

त्यसपछि जेठ ६ गते सहीद लखन गाउँपालिका र भीमसेन गाउँपालिका र केमुन्टारमा गरी १ सय ४१ जनाको परीक्षण भयो। त्यसमा २१ जनामा कोरोना पुष्टि भयो।

जेठ ७ गते भीमसेन गाउँपालिकाकै वडा नम्बर २ तान्द्राङ र ३ नम्बर वडा सिमलफेदमा १ सय ६३ जनाको परीक्षण भयो। त्यसमा १२ जना संक्रमित भएको छ।

तीन दिन विभिन्न गाउँपालिकामा गरेर ५ सय ७१ जनाको परीक्षण गरिएको थियो जसमा १ सय ५ संक्रमित देखिए।

narayankaji sankatka sathi4

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते संसदमा विश्वासको मत नलिने घोषणा गर्दै ७६ (५) अनुसारका नयाँ प्रधानमन्त्री चयन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई लेखि पठाएपछि प्रवक्ता श्रेष्ठ काठमाडौं आउनुपर्ने भयो।

उनी जेठ ७ गते बेलुका नै काठमाडौं फर्किए।

यता राजनीति निकै पेचिलो बन्दै गयो। जेठ ७ गते मध्यराति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरिदिइन्।

जेठ महिनाभर राजनीतिक परिवर्तनसँगै उनी निकै व्यस्त बने।

उता गोरखाका अन्य गाउँपालिका पनि कोरोनाको चपेटामा परेको खबर श्रेष्ठलाई तारन्तार आइरह्यो।

तत्काल गोरखा जान नखोजेका होइनन् तर राजनीतिले निस्किन दिएन।

गोरखाको बारपाकमा निकै भयावह भएको सूचना पाएपछि श्रेष्ठ अक्सिजन ग्यास, अक्सिमिटर, अक्सि कन्सेन्ट्रेटर र औषधि बोकेर फेरि लागे बारपाक।

जेठ १६ देखि १८ सम्म प्रवक्ता श्रेष्ठसहितको टोलीले जिल्लाको बारपाक, गण्डकी गाउँपालिका, पालुङटार नगरपालिका र गोरखा नगरपालिकामा एन्टिजेन परीक्षण गराए।

narayankaji sankatka sathi5

झण्डै चार सयको परीक्षण, सयजति संक्रमित
तीन दिनसम्म विभिन्न नगरपालिका र गाउँपालिकामा ३ सय ९७ को कोरोना परीक्षण भएको प्रवक्ता श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए।

त्यसमध्ये ८० जनालाई संक्रमण देखिएको छ।

कोरोना देखिएकालाई औषधि दिने, होम आइसोलेसनमा रहँदा ख्याल गर्नुपर्ने सावधानीको उपाय र परामर्श दिइएको उनले बताए।

बारपाकको वडा नम्बर ४ सौरपानी र ७ सुलिकोटमा १ सय १८ जनाको परीक्षण गरिएको थियो।

जसपा ४५ जनामा संक्रमण देखिएको छ।

जेठ १७ गते पालुङटार र गोरखा नगरपालिकामा परीक्षण गरियो।

दुईवटा नगरपालिकामा गरेर कुल ९८ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको छ।

narayankaji sankatka sathi6

यसैगरी जेठ १८ गते गण्डकी गाउँपालिकाको तीनवटा वडामा १२६ जनाको गरिएको एन्टिजेन परीक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए।

तीन दिन परीक्षण गरेर श्रेष्ठ काठमाडौं फर्किएका छन्। उनी गोरखामा कोरोना नियन्त्रणको लागि हरप्रयास गरिरहेको बताउँछन्।

‘सबैभन्दा पहिला नागरिक सुरक्षित रहनुपर्यो’, श्रेष्ठले भने, ‘त्यसपछि मात्र हामी अन्य कुरा गर्न सक्छौं, अहिले मेरो पहिलो प्रयास भनेकै गोरखाका जनतालाई स्वास्थ्य सामग्री पुर्याई उनीहरुको जीवन बचाउनु हो।’

यसरी उनी गृहजिल्ला गाेरखामा संकटकाे बेला साथीकाे भूमिका निर्वाह गरिरहेका छन्।

अहिलेसम्ममा गोरखाका २ नगरपालिका र ८ गाउँपालिकाका भच्चेक, जौबारी, गाँखु, आँपपिपल, बारपाक, सौरपानी, पाँचखुवा देउराली, मजुवा देउराली, दर्बुङ, मकैसिङ, फुजेल, बोर्लाङ क्यामुण्टार, धावा, तान्द्राङ, ठाँटीपोखरी, सिम्पानीलगायतका ठाउँहरुमा कोभिड सेवा शिविर आयोजना गरिएको हो।

नारायणकाजीको साथमा चिकित्सकहरु डा. शिशिर देवकोटा, डा. नवीन सापकोटा, डा. राकेश परियार, ल्याब टेक्निसिएन तथा सहायकहरु खेमराज सापकोटा, शैलेश थपलिया, अभिषेक मग्राती, अमृत सुनार, सविन कुमार खड्का, लक्ष्मी थापालगायत पनि रहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad