ad ad

राजनीति


फुट्नै लाग्यो जसपा

फुट्नै लाग्यो जसपा

नेपालखबर
जेठ १६, २०७८ आइतबार ३:५,

जनता समाजवादी पार्टी (जसपा) फुटको नजिकै पुगेको छ।

पार्टीका ठाकुर र यादव पक्षले एकअर्कालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन अन्यथा पार्टीबाटै निष्काशन गर्ने चेतावनी दिएसँगै  जसपा विभाजन हुने अन्तिम चरणमा पुगेको हो। 

अध्यक्ष महन्थ ठाकुरसहित चार नेताले ३ दिनभित्र स्पष्टीकरण नदिएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले शनिबार पुनः २४ घण्टाभित्र जवाफ दिन माग गर्दै पत्र पठाएका छन्।

यसलगत्तै अर्का अध्यक्ष ठाकुरले पनि यादवलाई उस्तै व्यहोराको २४ घण्टे अल्टिमेटम दिँदै स्पष्टीकरण दिन पत्र पठाएका हुन्।

दुवैका पत्रमा समयसीमाभित्र जवाफ नआए पार्टीबाट निष्काशन गर्ने चेतावनी दिइएको छ।

यही जेठ ८ गते बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई जेठ ११ गतेभित्र स्पष्टीकरण दिन पत्र पठाएका थिए।

ठाकुरले पनि यादवलाई त्यही व्यहोराको पत्र पठाएका थिए। दुवै पक्षले एकले अर्कोलाई पार्टीका नीति र निर्णयविपरीत गतिविधि गरेको आरोप लगाएका छन्।

यादवले केन्द्रीय कार्यकारिणी समितिको बहुमतका आधारमा चेतावनी दिएका हुन् भने अर्का अध्यक्ष ठाकुरले आफू पहिलो अध्यक्ष भएको हैसियतमा स्पष्टीकरण मागेका हुन्।

दुवैले दुवैलाई स्पष्टीकरणका लागि दिएको २४ घण्टे अल्टिमेटम आज सकिने र दुवै पक्षले एकअर्कालाई पार्टीबाट निष्कासन गर्ने सम्भावना रहेको जसपाकै नेताहरू बताउँछन।

जसले गर्दा जसपा पार्टी विभाजन हुने प्रबल सम्भावना छ। त्यसपछि आधिकारिताका लागि दुवै पक्ष निर्वाचन आयोग धाउने सम्भावना देखिन्छ।

ठाकुर पक्ष प्रधानमन्त्री ओलीको समर्थन र यादव पक्ष विपक्षी गठबन्धनका पक्षमा लागेका कारण कुरा नमिलेको हो।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी २०७७ वैशाखमा एकीकरण गरी जसपा बनेको हो। तर एकीकरण प्रक्रिया टुंगो नलाग्दै सत्ता समीकरणका विषयमा दुई धार देखिएपछि जसपा फुटको संघारमा पुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .