सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज (सोमबार) सर्वदलीय बैठक बस्दै छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक अहिले बिहान ९ बजे सिंहदरबारस्थित संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बस्नेछ।
सर्वदलीय बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको उनले बताए।
रास्वपा सभापति लामिछाने पाँचदिन भारत भ्रमण गरेर यही जेठ २२ गते मात्र स्वदेश फर्किएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध गरिरहेका छन्।
आजै प्रतिनिधिसभाको बैठक बस्दै छ।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले संसद्मा आएर माफी माग्नु पर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरिरहेका छन्। अन्यथा संसद् बैठक चल्न नदिने अडान लिएका छन्।
राष्ट्रियसभाको बैठक जेठ २६ गतेका लागि बोलाइएको छ।
Shares

प्रतिक्रिया