राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणप्रति खेद व्यक्त गरेकी छन्।
हिजो बिहीबार राति एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि मृतकका आफन्तले सो अस्पतालका डाक्टर, नर्स लगायतलाई लखेटीलखेटी आक्रमण गरेका थिए।
जसका कारण ४ जना नर्सले दुई तलामाथिबाट हाम फालेर ज्यान जोगाएका थिए।
‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ,’ राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत् भनेकी छन्, ‘दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो।’
सो आक्रमणको सबै क्षेत्रबाट निन्दा र भर्त्सना भएको छ भने प्रहरीले ३ जना आक्रमणकारीलाई पक्राउ गरेको छ।
त्यसैगरी घटनाबारे अनुसन्धान र दोषीलाई कारबाहीका लागि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ।
यो पनिः
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथी आक्रमण, ज्यान जोगाउन नर्सले छतबाट हामफाले

प्रतिक्रिया