राजनीति


नेपालले खोल्यो चीनको छेन्दूमा महावाणिज्य दूतावास

नेपालले खोल्यो चीनको छेन्दूमा महावाणिज्य दूतावास

नेपालखबर
जेठ १०, २०७८ सोमबार १०:४०,

नेपालले चीनको छेन्दूमा महावाणिज्य दूतावास खोलेको छ।

चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डे, सिचुवान प्रादेशिक सरकारका उप–गभर्नर तथा सिचुवान प्रादेशिक कमिटीको स्थायी समितिका सदस्य ली युन्ज, छेन्दू नगरपालिकाका मेयर वाङ फेङचाओ, चीनको विदेश मन्त्रालयको महावाणिज्य मामिलासम्बन्धी विभागका महानिर्देशक सुई अइमिनले सोमबार सो कार्यालयको संयुक्तरुपमा उद्घाटन गरेका थिए।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार सो अवसरमा राजदूत पाण्डेले प्राचिनकालदेखि नै आपसी विश्वास, समझदारी र असल छिमेकीका मान्यता नै नेपाल र चीनबीचको सम्बन्धका आधार रहँदै आएको बताएका थिए।

‘शान्ति, समृद्धि र विकासको साझा उद्देश्यमा दुवै देशले एकअर्कालाई आपसी सहयोग दिँदै आएका छन्,’ उनले भनेका छन्।

राजदूत पाण्डेले छेन्दूमा महावाणिज्य दूतावासको स्थापनापछि अब नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने बताए।

ल्हासा, ग्वान्जाओ र हङकङमा नेपालका महावाणिज्य दूतावास पहिलेदेखि सञ्चालनमा छन्।

सिचुवान प्रादेशिक सरकारका उप–गभर्नर ली युन्जले सो महावाणिज्य दूतावासको स्थापनाले दुई देशबीचको व्यापार, लगानी, पर्यटन र जनस्तरको सम्बन्ध बढाउन सहयोगी हुने बताएका थिए।
महानिर्देशक सुई अइमिनले महावाणिज्य दूतावासको स्थापनाले चीन र नेपालबीच कायम रहेको मित्रता, असल छिमेकीपन र आपसी सहयोगमा अझ वृद्धि गर्ने बताए।

महावाणिज्यदूत दिनेशकुमार घिमिरेले सहभागिताका लागि सबैलाई धन्यवाद दिएका थिए।

सो कार्यक्रममा सिचुवान प्रादेशिक सरकारका महासचिव चेङ वेइ, छेन्दू नगरपालिकाका उपमेयर सुई झिवेई, छेन्दूमा रहेका विदेशी कुटनीतिक अधिकारीहरु, उद्यमी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad