राजनीति


आन्दोलन होइन, अब चुनावमा जाऔँ : बिजुक्छे

आन्दोलन होइन, अब चुनावमा जाऔँ : बिजुक्छे

नेपालखबर
जेठ ८, २०७८ शनिबार १६:१९,

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब सबै पक्ष चुनावमा केन्द्रित हुनुपर्ने बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ का लागि निर्वाचनको घोषणा गरेकोमा त्यसको विरोध गर्नुको कुनै अर्थ नभएको उनले बताए।

नेमकिपाले निर्वाचनको पहिला पनि स्वागत गरेको र अहिले पनि स्वागत गर्छ भन्दै अध्यक्ष बिजुक्छेले भने, ‘सबै दलहरुमा अनुशासन भंग भयो, शासक दलहरु यसको मुख्य जिम्मेवार हुन्, यी दलहरुलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानै पर्छ, चुनावको हाम्रो पार्टी स्वागत गर्छ, अब स्थिरताका लागि पनि चुनावमा जानै पर्छ।’

उनले भने, ‘हामीले अघिल्लो पटक पनि चुनावमा गएर निकास दिनु पर्छ भनेकै हो, अदालतले बुझेन वा दलहरुलाई ठाउँमा ल्याउन सकिन्छ कि भनेर संसद पुनर्स्थापना गरिदिएको होला, तर परिस्थितिले फेरि चुनावमा नै जाने गरी त्यही ठाउँमा ल्याइदियो, अब यसको विकल्प छैन।’

जनताले भनेको मान्नुपर्ने बताउँदै चुनावबाटै जनताको मत र आदेश लिएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।

चुनावको विरोध गर्छु, आन्दोलन गर्छौं भन्नुको अर्थ छैन भन्दै अध्यक्ष बिजुक्छेले भने, ‘देशलाई यथास्थितिमा राखेर ६–६ महिनामा आफू पनि सरकारको नेतृत्वमा जाने योजना बनाएकाहरुले त्यो नपाए पनि विरोध गरेका होलान्, सरकारमा जाने बाटो त चुनावपछि पनि छँदैछ जनतासँग मत लिन तोकिएकै मितिमा निर्वाचन गराउन सरकारलाई सचेत गराउनुपर्छ।’

दलहरु कोभिड–१९ नियन्त्रणमा सक्रिय हुनुपर्नेमा त्यसतर्फ चासो नदिएको भन्दै उनले भारतमा कोरोना महामारी फैलिरहँदा नेपालको दक्षिण सिमामा क्वारेन्टिन बनाउनुपर्ने, दलहरुले आफ्ना कार्यकर्तालाई स्वयंसेवकका रुपमा कोभिड नियन्त्रणका लागि परिचालन गर्नुपर्नेमा त्यसो गर्न नसक्दा जनताको ज्यान गएको बताए।

बिजुक्छेले भने, ‘पहाड, गाउँमा गएर चुनाव जितेर आउने र सधैँ काठमाडौं बस्ने, अनि आफूलाई भोट दिने जनता संकटमा पर्दा थाहै नपाउने? नेताको यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ, जहाँबाट चुनाव जित्छन्, नेता त्यहीँ बस्नुपर्छ, यो संकटमा आन्दोलन गर्ने होइन, जनतालाई साथ दिन गाउँ जानुपर्छ।’

पहिला जनताको ज्यान सुरक्षित गर्नुपर्छ भन्दै उनले त्यसपछि अरु कुरामा ध्यान जानुपर्ने औँल्याए।

नेमकिपाले सन्तुलित विकास आवश्यक छ, विकेन्द्रीकरणले मात्रै जनताले राहत पाउँछन् भन्दै आएको बताउँदै उनले यस्तो भएको भए अहिलेको कोरोना संकटको सामना आफ्नै क्षेत्रले गर्न सक्थ्यो भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad