राजनीति


जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा निष्काशित

जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा निष्काशित

नेपालखबर
जेठ ८, २०७८ शनिबार १६:४,

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सांसद कृष्ण थापालाई जिम्मेवारीबाट निष्काशन गरेको छ। राजमोका केन्द्रीय सदस्यसमेत रहेका थापालाई केन्द्रीय समिति सदस्यलगायत सबै जिम्मेवारीबाट निष्काशन गरिएको रजामो महासचिव मनोज भट्टले जानकारी दिए।

शनिबार बसेको राजमो केन्द्रीय समिति बैठकले थापालाई पार्टी सदस्यताबाटसमेत एक वर्षका लागि निलम्बन गरेको महासचिव भट्टले नेपालखबरलाई बताए। थापालाई सांसद पदबाट भने अहिले हटाइएको छैन।

बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले प्रेशित गरेको वक्तव्यमा थापाले पार्टी निर्देशन उल्लंघन गरी पार्टीको प्रतिष्ठामा आँच पुर्याएकाले कारवाही गर्नुपरेको स्पष्ट पारेका छन्।

‘राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सांसद कृष्ण थापाले पार्टी निर्देशन विपरीत गण्डकी प्रदेश सरकारका विरुद्व दुई वा दुई भन्दा बढी दलहरु मिलेर गठन गर्ने सरकारका लागि प्रदेश प्रमुख समक्ष प्रस्तुत गरिएको दावी पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरे गर्नुभएको थियो’ अध्यक्ष केसीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘उहाँले सार्वजनिकरुपले पार्टी प्रतिष्ठामा आँच पुग्नेगरी लगातार अभिव्यक्ति दिएको हुनाले उहाँलाई पार्टीको केन्द्रीय समितिको सदस्य पदबाट निष्काशन गरिएको छ। त्यसका साथै साधारण सदस्यबाट समेत एक वर्षका लागि निलम्बन गर्ने निर्णय समेत बैठकले गरेको छ।’

गत वैशाख २९ गते पार्टीको निर्देशनविपरित थापाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समर्थन गर्दै उनीविरुद्धको गठबन्धनमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए। थापाको सो कदमपछि राजमोले तत्काल उनलाई संसदीय दलको नेताबाट हटाएको थियो।

यस्तै, बैठकले प्रधानमन्त्री केपी ओली देशमा प्रतिगमन लादेर फासिवादमा जान चाहेको भन्दै आपत्ति जनाएको छ। राजमोले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमविरुद्ध कानुनीसँगै राजनीतिक संघर्षका लागि पनि सबैसँग आव्हान गरेको छ।

अध्यक्ष केसीले भनेका छन्, ‘ओलीको प्रतिगमनका विरुद्ध संघर्ष गर्नु आजको मुख्य आवश्यकता बनेको छ। ओलीको संसद विघटन तथा मध्यावधि निर्वाचन घोषणाको कार्यका विरुद्ध सम्पूर्ण शक्ति एकजुट हुनु पर्ने आवश्यकता छ। ओलीको प्रतिगमनका विरुद्ध राजनैतिक तथा कानुनी संघर्ष अगाडि बढाउन बैठकले जोड दिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad