राजनीति


माधव नेपाल पक्ष विपक्षीको गोटी बन्यो, एमाले एकता बिथोलियो: महासचिव ईश्वर पोखरेल

माधव नेपाल पक्ष विपक्षीको गोटी बन्यो, एमाले एकता बिथोलियो: महासचिव ईश्वर पोखरेल

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार ०:१,

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बागमती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य उपचुनावपछि पार्टीमा एकता कायम गर्ने वातावरण बिथोलिएको बताएका छन्।

बिहीबार भएको उपचुनावमा एमालेबाट उम्मेदवार निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादल एमालेकै नेपाल पक्ष र विपक्ष दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका डा. खिमलाल देवकोटा विजयी भएका छन्।

नेपाल पक्षमा मतदाताले साथ नदिँदा बादल पराजित भएका हुन्।

यसलाई एमाले महासचिव पोखरेलले ‘राष्ट्रिय सभाको निर्वाचनमा लज्जास्पद नाटक’ भनेका छन्।

‘राष्ट्रिय सभाका लागि भएको उपनिर्वाचनमा देखिएका हर्कतहरू अत्यन्तै निष्कृष्ट र अक्षम्य छन्,’ बिहीबार राति जारी वक्तव्यमा पोखरेलले भनेका छन्, ‘यस खाले अराजक कृत्यले नेकपा (एमाले) भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको छ।’

यसलाई उनले पार्टीविरूद्ध गरिएको ‘अपराधपूर्ण काम’को संज्ञा दिएका छन्। भनेका छन्, ‘पार्टी विधान, पद्धति , प्रक्रिया, नीति , निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो पनि उदांगो भएको छ।’

आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्बिनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने, ‘सूर्य’ चिह्नवाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरूको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्नेजस्ता निर्लज्ज र अपराधपूर्ण काम कम्युनिस्ट आन्दोलन र संसदीय÷ लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय भएको टिप्पणी महासचिव पोखरेले गरेका छन्।

उनले भनेका छन्, ‘विषम अवस्थामा पार्टी विभाजनका विरूद्ध दृढतापूर्वक उभिँदै पार्टी र आन्दोलनको रक्षामा जुट्न आवश्यक छ।’

एमालेका ओली पक्ष र नेपाल पक्ष पार्टीमा एकता कायम गर्न भनेर कार्यदलसमेत बनाई वार्ता गरिरहेका बेला महासचिव पोखरेलबाट नकारात्मक अभिव्यक्ति आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad