राजनीति


के बादलको हारले एमालेभित्र अर्को संकट निम्त्याएको हो?

के बादलको हारले एमालेभित्र अर्को संकट निम्त्याएको हो?

मणि दाहाल
जेठ ६, २०७८ बिहिबार १४:५,

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा सूर्य चिन्ह लिएर लडेका रामबहादुर थापाले पराजय बेहोरेका छन्। यो चुनावी नतिजाले विवाद समाधानको दिशातर्फ अघि बढेको एमालेमा एक पटक पुनः संकट निम्त्याउने देखिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीचको विवादलाई समाधान गर्न कार्यदल समेत गठन गरिएको थियो। तर, बिहीबारका लागि बोलाएको कार्यदलको बैठक पनि स्थगित हुन पुगेको छ। यसअघि अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटीको आकस्मिक बैठकले पार्टीको उम्मेदवारको पक्षमा मत नदिने कार्यको भर्त्सना गरेको थियो।

बिहीबार भएको उपचुनावमा विपक्षी दलको साथ पाएका नेपालनिकट उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन्।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले उपचुनावमा थापालाई हराउने काम संसदीय प्रणालीकै ठूलो गल्ती भएको बताए।

‘स्थायी कमिटीको बैठकले हेटौँडामा जुन प्रवृत्ति देखिँदै थियो त्यसलाई निन्दा र भर्त्सना गरिसकेको छ। जुन प्रवृत्ति देखिएको छ, त्यो संसदीय व्यवस्थामा निकै ठूलो गल्ती मानिन्छ,’ नेम्वाङले भने, ‘यो विषयमा हामी छलफल गरिरहेका छौँ। हेर्दै छौँ। यो विषयमा आजै हतार नगरौँ।’

कार्यदलमा ओलीतर्फका संयोजक समेत रहेका नेम्वाङले निर्वाचनको नतिजाले कार्यदलको कामलाई असर नगर्ने दाबी गरे। तथापि, यो प्रवृत्ति निकै घातक भएकोमा उनले जोड दिए।

‘हिजो र आज कार्यदलको बैठक अन्य कारणले नबसेको हो। शुक्रबार १ बजे बैठक बस्छ,’ नेम्वाङले भने।

कार्यदलले सुरुमा तीन दिनभित्र पार्टी विवाद समाधान गर्ने गरी काम गर्ने भनिए पनि हालसम्म एक पटक मात्रै बैठक बसेको छ। जसमा कार्यसूची, कार्यविधि र आचारसंहिता निर्माणको विषयमा मात्रै सहमति भएको छ।

थापाको हारले कार्यदलको कामकारबाहीलाई असर गर्ने ओलीनिकट स्रोतहरुको दाबी छ।

केन्द्रीय सदस्य गोकुल बास्कोटाले दलभित्रका असन्तुष्ट पक्षसँग आक्रोश पोखेका छन्।

‘दूध खुवाएर पालेका साँपले डसेका हुन्। विपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुआत मात्र,’ बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्।

बिहीबारको घटनापछि पार्टीभित्र नेपाल समूह झनै कमजोर हुने ओली समूहको बुझाइ छ।

‘बादललाई चुनावमा जिताएको भए नेपाल पक्षलाई समेट्न झनै ठूलो दबाब सिर्जना हुने थियो। तर, अहिले कार्यकर्ता पंक्तिमा समेत आक्रोश सिर्जना गरेको छ। जसले गर्दा नेपाल पक्षलाई पार्टीभित्र झनै कमजोर बनाउने देखिन्छ,’ ओलीनिकट एक नेताले भने।

माधव नेपालले पार्टीलाई धोका दिएर थापालाई हराउन सक्रिय भूमिका खेलेको उनको आरोप छ।

‘माधव कमरेडले नुवाकोटका एक पालिकाका प्रतिनिधिलाई जुन दिन फोन गरेर भोट माग्नु भएको थियो, त्यो फोन रेकर्ड त्यसैदिन प्रधानमन्त्री ओली र पार्टी महासचिव पोखरेलसँग पुगिसकेको छ,’ ती नेताले भने, ‘पार्टीका उम्मेदवारलाई हराउन नेपाल समूहले भूमिका खेलेको पुष्टि गर्ने यो पर्याप्त प्रमाण हो।’

महासचिव पोखरेलले पार्टीका सबै प्रतिनिधिहरुलाई पत्र लेख्दै पार्टीको पक्षमा मत दिन निर्देशन दिएका थिए। मतदानको एक दिनअघि आचारसंहिता तोड्दै अध्यक्ष ओलीले पार्टीको उम्मेदवारलाई जिताउन अपिल पनि गरेका थिए।

तर, नेपाल पक्षले भने ओलीले राष्ट्रियसभा निर्वाचनको परिणामलाई ओलीले गम्भीरतापूर्वक नलिने बताउँछन्।

‘न ओली–नेपाल वान अन वान वार्तामा राष्ट्रियसभाको निर्वाचनबारे कुनै चर्चा भयो, न त कार्यदलमै यस विषयमा कुरा उठ्यो,’ कार्यदलका एक सदस्यले भने, ‘कार्यदल वा नेता नेपालसँग गम्भीरतापूर्वक छलफल गरेको भए यो विषयमा सायद निकास निस्कन सक्थ्यो।’

मंगलबार थापाले नेता नेपाललाई भेटेर आफूलाई सघाउन आग्रह गरेका थिए। तर नेपालले आफैँले उम्मेदवार बनाएका देवकोटालाई अहिले आएर धोका दिन नसक्ने जवाफ दिएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .