ad ad

राजनीति


संकटमा नेपाललाई साथ दिन बेलायतसँग आग्रह गर्दै सार्वजनिक व्यक्तित्वहरुले सुरु गरे हस्ताक्षर अभियान

संकटमा नेपाललाई साथ दिन बेलायतसँग आग्रह गर्दै सार्वजनिक व्यक्तित्वहरुले सुरु गरे हस्ताक्षर अभियान

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १७:२,

नेपालमा आइपरेको स्वास्थ्य संकटमा सहयोग गर्न सार्वजनिक व्यक्तिहरुको आग्रह बेलायत सरकारसँग खुला अपिल गरेका छन्।

जोना लुम्ले, सर माइकल पालिन र सर क्रिस बनिङटन जस्ता प्रतिष्ठित सार्वजनिक व्यक्तित्वहरुले अक्सिजन उपकरण तथा मेडिकल सामग्री पठाएर नेपाललाई यो महामारीमा साथ दिन बेलायत सरकारसँग आग्रह गरेका हुन्।

कोभिड–१९ का बिरामीको संख्या ह्वात्तै बढेपछि नेपालको स्वास्थ्य प्रणाली नै अस्तव्यस्त भइसकेको बताउँदै उनीहरुले मानिसहरुको ज्यान जोगाउन सहयोग अपरिहार्य बनेको बताएका छन्।

अस्पतालका बेडको अभावका कारण एक सातादेखि अस्पतालहरुले बिरामी भर्ना बन्द गर्न थालेको र मानिसहरुले अक्सिजन नपाएर ज्यान गुमाइरहेको उनीहरुले बताएका छन्।

‘नेपालको पहाडी क्षेत्रका मानिसहरुले वर्षौंदेखि बेलायतलाई कति सहयोग गर्दै आएका छन् र हामी उनीहरुप्रति कति ऋणी छौं भन्ने कुरा मैले आफैंले देखेको छु,’ सर क्रिस बनिङटनले भनेका छन्, ‘उनीहरु अहिले यो महामारीमा आकुलव्याकुल भइरहेका बेला हाम्रो सरकारले सहयोग गर्नेछ भन्नेमा म आशावादी छु।’

सर जेरमी फर्रार, सराह गिलबर्ट, एन्ड्रू पोलार्ड, निकोलस ह्वाइट, एड्रियन हिल, पिटर हर्बी, फिलिप ग्युरिन, अलाइन टाउनसेन्ड र स्यान्डी डगलस लगायत बेलायतको सार्वजनिक स्वास्थ्य विज्ञ र खोप अनुसन्धाताहरुले बेलायतका विदेशमन्त्री डमिनिक राबलाई सम्बोधन गरिएको सो पत्रमा हस्ताक्षर गरेका छन्।

अहिले नेपालमा फैलिरहेको कोभिड संक्रमण दर विश्वमै सबैभन्दा बढि रहेको भन्ने राष्ट्रसंघको भनाइलाई सो पत्रमा उल्लेख गरिएको छ भने बिरामीको संख्या नेपालका अस्पतालहरुको क्षमताभन्दा बाहिर पुगेको परिदृष्यबारे जानकारी दिइएको छ।

बेलायतको प्रतिष्ठित पदक भिक्टोरिया क्रसबाट विभुषित हुने जीवित पाँचमध्येका एकजना क्याप्टेन रामबहादुर लिम्बुले पनि सो पत्रमा हस्ताक्षर गरेका छन्।

सन् १९६५ मा इन्डोनेसियामा रहेर १०औं गोर्खा राइफलमा सेवा गरिरहेका बेला उनलाई बेलायतको सबैभन्दा प्रतिष्ठित सो पदक दिइएको थियो।

पूर्व चिफ अफ डिफेन्स स्टाफ जनरल दि लर्ड रिचार्डस् अफ हस्र्टमनस्युक्स पनि सो हस्ताक्षर अभियानमा जोडिएका छन्।

जनरल सर साम कोवनले नेपाली जनता र खासगरी गरीब समुदायले निकै कष्टपूर्ण अवस्था भोगिरहेको हुँदा २ सय वर्षदेखिको सम्बन्धका आधारमा पनि अहिले सहयोग गर्ने बेला आएको बताएका छन्।

‘बेलायतले महत्वपूर्ण सहयोग गर्नुपर्ने बेला आएको छ, हामी यसमा चुक्नै हुँदैन, हामीभन्दा कम ऐतिहासिक सम्बन्ध भएका मुलुकहरुभन्दा पनि हामी धेरै पछि परिसक्यौं,’ उनले भनेका छन्।

लेखक, कलाकार, पर्वतारोही, सैनिकलगायत ५६ जना व्यक्तिहरुले बेलायत सरकारलाई आह्वान गरिएको सो खुलापत्रमा हस्ताक्षर गरिसकेका छन्।

सो पत्र हस्ताक्षरका लागि चेन्ज डट ओआरजीमा सबैका लागि खुला छ।

वक्तव्य:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .