राजनीति


मन्त्रीसँग करार गरेका प्रधानमन्त्री जनतासँगको करारमा आफै फेलः रिजाल

मन्त्रीसँग करार गरेका प्रधानमन्त्री जनतासँगको करारमा आफै फेलः रिजाल

नेपालखबर
भदौ १, २०७६ आइतबार ८:३५,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकार सञ्चालनको परीक्षामा प्रधानमन्त्री असफल भएको बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले संसदसंँ गरेको कार्यसम्पादन करार पुरा गर्न नसकेको बताए। बजेट कार्यान्वयन सरकारले संसदसँग गरेको कार्यसम्पादन भएको भन्दै उनले त्यो पुरा हुन नसकेकाले प्रधानमन्त्री शासन सञ्चालनको परीक्षामा असफल भएको तर्क गरे।

उनले भने, ‘प्रधानमन्त्री ज्यू, तपाईले मन्त्रीसँग गरेको कार्यसम्पादन करारका बारेमा त औँला उठाउनुहोला, मन्त्री फेर्नुहोला। तर जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खै? हिजो जनताले निर्वाचनमा गरेको कार्यसम्पादन करार पुरा भएन प्रधानमन्त्री ज्यू। त्यतिमात्रै होइन संसदले गरेको थियो, कार्यसम्पादन करार अघिल्लो वर्ष। बजेट कार्य सम्पादन करार हो। संसद र सरकारको। पुरा गर्न सक्नुभएन प्रधानमन्त्री ज्यू। यो परीक्षामा असफल भईसक्नुभयो। आउने दिन सफलता प्राप्त होस शुभकामना व्यक्त गर्छु।’

एक वर्षमै जहाज र रेलको सपना देखाउने सरकार तिथि मिति तोकेर सत्तापक्षले निम्ता गरेको स्मरण गराउदै उनले अहिले भने आधार वर्ष भनेर आर्थिक वृद्धिको बारेमा हल्का टिप्पणी नगर्न प्रधानमन्त्रीलाई सचेत गराए।

लोकतन्त्रका लागि सरकार नलडेको र प्रजातन्त्रका लागि लडेकाहरुले सरकार बनाएको दाबी गर्दै उनले एक पल्टको लडाईले जीवनभरी जे पनि गर्न अनुमति नदिने भन्दै लोकतान्त्रिक आचरण देखाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा अर्को चुनाव नभएसम्म सरकार नफेरिने भन्दै सडकमा सरकार उल्टाउने सपन नदेख्न गरेको आग्रहका सम्बन्धमा टिप्पणी गर्दै सांसद रिजालले अर्को चुनावपछि नेपाली कांग्रेसको सरकार बन्ने बताए।

उनले भने, ‘प्रधानमन्त्रीले भन्नुभयो अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ। ठिक हो प्रधानमन्त्री ज्यू। यस्तो काम देखेपछि त अर्को पल्ट कांग्रेस बाहेक अरु कसको सरकार बन्छ? यसपल्ट त यही सरकार भन्दा तरंग सत्तामा गयो गएन मलाई थाहा छैन। शुभकामना छ सत्ता भित्रै कोही तरंगित नभएको होस्।’

सांसद रिजालले नियमावलि अनुसार प्रश्नोत्तरको समय उपलब्ध नगराईएकोमा व्यंग्यात्मक शैलीमा सभामुखको पनि ध्यानाकर्षण गराए।

सांसद रिजालले भने, ‘प्रधानमन्त्रीको सम्बोधनको क्रममा प्रधानमन्त्रीलाई तन्दुरुस्त र स्वस्थ देखेर म यति खुसी भए कि प्रश्नोत्तर सोध्नै विर्सेछु। अरु साथीहरुलाई पनि त्यही परेछ। सभामुखले नियमावलि अनुसार प्रश्नोत्तरको समय त पक्कै दिनुभएको थियो। सभामुखले नियमावलि मिच्नुहुन्न। मलाई विश्वास छ। म भिडियो रेकर्ड पनि चेक गर्दिन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .