राजनीति


हामीसँग बदला लिन फेरि संसद् विघटन गर्न खोजिँदैछ : घनश्याम भुसाल

हामीसँग बदला लिन फेरि संसद् विघटन गर्न खोजिँदैछ : घनश्याम भुसाल

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ६:१७,

नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली फेरि प्रतिनिधि सभा विघटन गर्न लागिपरेको आरोप लगाएका छन्।

प्रधानमन्त्री ओलीको नाम नलिईकन सांसद भुसालले गत पुसमा विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापना गरिँदासम्म दोस्रोपटक असफल भएको शक्तिले आफूहरूसँग बदला लिन फेरि प्रतिनिधि सभा विघटन गराउन खोजिरहेको दाबी गरेका हुन्।

पूर्वमन्त्रीसमेत रहेका नेता भुसालले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरूले चुनावको नाममा फेरि प्रतिनिधि सभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन।’

उनले हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको दोष ढाकछोप गर्नेले आज झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर एमालेलाई विभाजन गर्न खोजिरहेको आरोप पनि लगाएका छन्।

भनेका छन्, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो। आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ।’

तर आफूहरू आफ्नो अडानमा टसमस नहुने संकेत उनले गरेका छन्।

‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ,’ उनले भनेका छन्, ‘तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।’

आफ्नो पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन गत सोमबार भुसालसहित माधव नेपाल पक्षका २८ सांसदले संसद् बैठकै बहिष्कार गरेर अनुपस्थित भएका थिए।

सुरुमा सामूहिक राजीनामा दिने तयारी गरेका नेपाल पक्षका सांसदले अन्तिम घडी अर्थात् विश्वासको मतका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन सुरु हुनुअघि राजीनामा नदिने तर संसद् बैठकमै उपस्थित नहुने निर्णय गरेका थिए।

यो पनि : संसदमा उपस्थित नहुने हाम्रो निर्णय- न विभाजन न समर्पण : घनश्याम भुसाल

प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार गठन गर्न आह्वान गरिसकेकी छन् भने त्यसको समयसीमा भोलि वैशाख ३० गते सकिँदैछ।

त्यसका लागि अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत विपक्षी दल छलफलमा छन्। तर जसपामा महन्थ ठाकुर पक्षले साथ नदिने भएपछि विपक्षी दललाई बहुमत पुर्‍याउन धौधौ परिरहेको छ। यसैकारण माधव नेपाल पक्षका सांसदले सामूहिक राजीनामा दिएर भए पनि नयाँ सरकार गठन गर्ने कि भन्नेसम्मका चर्चा पनि अहिले चलिरहेको छ।

नेपाल पक्षका सांसदले राजीनामा गर्दा संसदको कूल सदस्य संख्या घट्ने र विपक्षीलाई बहुमत पुर्‍याउन सहज हुने आकलन गरिएको छ।

तर यहीबीच साथ दिने भनिएको जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री रहेका व्यक्तिबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेपछि भने प्रधानमन्त्री बन्न कस्सिएका कांग्रेस सभापति देउवाको तयारी पनि अन्योलमा परेको छ।

यी पनि :

देउवालाई प्रधानमन्त्री बनाउन नमान्ने बाबुराम भट्टराईको संकेत

यसरी फेरि संसद् विघटनको अवस्थामा पुग्न सक्छ मुलुक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad