नेपाली कांग्रेसका नेता गगन थापाले देशमा अक्सिजनको चरम अभाव रहेकाले आज दिनभरिमा जसरी भए पनि समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष आग्रह गरेका छन्।
सोमबार रातिदेखि मंगलबार बिहानसम्म विभिन्न स्थानबाट अक्सिजन अभावका कारण बिरामीहरू छटपटिरहेको भनेर हारगुहार गर्दै दर्जनौं फोन आएको पूर्वस्वास्थ्यमन्त्री थापाले बताएका छन्।
मंगलबार भिडिओ सन्देश जारी गर्दै थापाले भनेका छन्, ‘सरकारी अस्पतालका एक जना चिकित्सकले बिहान फोनमा कुरा गर्दै मसँग भन्दै हुनुहुन्थ्यो– अब हामीले पनि हात उठायौं। बरन्डामा राखेर उपचार गर्यौं। अब नयाँ बिरामी लिन सक्दैनौं, भएकालाई अक्सिजन पुर्याउन सकेको छैनौं। अक्सिजनको क्वालिटी ठीक नहुँदा सघन उपचार प्राप्त गरिरहेका कतिपय बिरामीलाई बचाउन सक्दासक्दै पनि हाम्रा आँखाअगाडि उनीहरू मरिरहेका छन्। हामी टुलुटुलु हेरेर बस्न बाध्य छौं।’
आज दिनभरिमा जसरी पनि अक्सिजनको समस्या समाधान गर्न थापाले प्रधानमन्त्री ओलीलाई दुई हात जोडेर बिन्ती गरेका छन्। अन्थया ‘ठूलो दुर्घटना’ हुन सक्ने अवस्था रहेको उनले उल्लेख गरेका छन्।
थापाले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, अक्सिजनको अभावमा बिरामी र तिनका आफन्तको छटपटी अनि अस्पतालहरू अत्तालिएर सेवा नै बन्द गर्न परेको हृदयविदारक अवस्था छ, कृपया यसलाई मनन गरेर अक्सिजन आपूर्ति र वितरणको गाँठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न विनम्र अनुरोध गर्दछु।’
हेर्नुहोस्, गगन थापाले जारी गरेको भिडिओ सन्देश :
Shares

प्रतिक्रिया