५० मिनेट आकाशमै होल्डपछि चीनबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर आएको नेपाल वायुसेवा निगमको वाइडबडी त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।
करिब ३ बजे नै नेपालको आकाशमा प्रवेश गरेको जहाज ५० मिनेट होल्डपछि अवतरण गरेको हो।
साेमबार राति चीनको बेइजिङ गएको वाइडबडी २ः३५ मा त्रिभुवन विमानस्थल अवतरण गर्नुपर्ने भए पनि ढिलाइ भएको हो।
त्रिभुवन विमानस्थलको टीडीओ कार्यालयले भने विमानस्थलमा कुनै समस्या नभई जहाजको आफ्नै आवश्यकताअनुसार होल्डमा बसेको जनाएको छ।

नेपाल वायुसेवा निगमका फ्लाइट अपरेसन निर्देशक दीपु ज्वारचनका अनुसार ४ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सन्ट्रेटर जहाजमार्फत ल्याइएको छ।
चीन सरकारले नेपालमा अक्सिजन सिलिन्डर अभाव भएसँगै २० हजार सिलिन्डर अनुदानमा दिने बताएको थियो। जसअनुसार पहिलो लटमा ४ सय सिलिन्डर ल्याइएको हो।
सरकारले करिब २ हजार सिलिन्डर हवाइमार्गबाट र बाँकी स्थलमार्गबाट ल्याउने जनाएको छ।
यसबाहेक हिमालय एयरलाइन्सले चीनको कुनमिङबाटै कार्गो ल्याएको छ भने राति पुनः कुनमिङ जाने तालिका रहेको छ।
नेपाल वायुसेवा निगमका प्रबन्धनिर्देशक डिम प्रसाद पौडेलले ४ जना पाइलटसहित विमानमा चालक दलका १४ जना सदस्यहरु रहेको जानकारी दिए।
उनले बेइजिङ विमानस्थलमा सामान तयार हुनासाथ तुरुन्त जान सकिने गरी निगमलाई तयारी अवस्थामा राखिने समेत जानकारी दिए।
‘निगमले देशको सेवा गर्नु आफ्नो कर्तव्य ठानेको छ’, पौडेलले भने, ‘दुई जना पनि नेपाली नागरिकको ज्यान बचाउन सकियो भने निगमले आफूलाई भाग्यमानी ठान्नेछ।’
याे पनि-
चीनबाट स्वास्थ्य सामग्री बोकेर आएको निगमको जहाज ५० मिनेटदेखि आकाशमै होल्ड
Shares

प्रतिक्रिया