जेरुसलेम संकट थप गहिरिएपछि विश्वभरबाट शान्ति बहाल गर्ने प्रयास भएको छ।
अमेरिका, बेलायत र युरोपेली संघले इजरायल र प्यालेस्टाइनलाई जतिसक्दो चाँडो तनाव कम गर्न आग्रह गरेका छन्।
सोमबार राति इजरायल र प्यालेस्टाइनका विद्रोही हमासबीच रकेट बम हानाहान भएको थियो।
सुरुवातमा हमासले जेरुसलेममा रकेट प्रहार गरेपछि जवाफमा इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा जवाफी कारवाही गर्दा २२ जनाको मृत्यु भएको बताइएको छ।

इजरायलले हमासको ब्यारेकमा आक्रमण गरेको बताएको छ। मृतकमध्ये १५ जना हमासका लडाकु भएको जनाइएको छ।
जेरुसलेमको अल–अक्सा मस्जिद मुसलमानको पवित्र धार्मिकस्थल मानिन्छ। त्यहाँ सुरुवात भएको संघर्षमा इजरायली प्रहरीले अधिकाँश प्यालेस्टाइनी नागरिक घाइते बनाएपछि हमासले आक्रमणको चेतावनी दिएको थियो।
प्यालेस्टाइनका नागरिकलाई मस्जिदमा प्रवेश गर्न नदिएपछि हिंसा सुरुवात भएको बताइएको छ।
के हो विवाद?
सन् १९६७ को युद्धमा इजरायलले पूर्वी जेरुसलेम आफ्नो नियन्त्रणमा लिएको छ। अहिले इजरायलले जेरुसलेमलाई आफ्नो राजधानी मान्छ।
तर प्यालेस्टानसहित अन्तर्राष्ट्रिय समुदायले इजरायलको समर्थन गर्दैनन्। प्यालेस्टाइन पूर्वी जेरुसलेमलाई एउटा स्वतन्त्र मुलुकको राजधानीको रुपमा हेर्छ।
पछिल्लो समय इजरायलका यहुदी समुदायले त्यहाँका मुस्लिम प्यालेस्टाइनी नागरिकलाई हटाउन खोजेपछि विवाद भएको छ।

सन् २०१६ को अक्टोबरमा संयुक्त राष्ट्रसंघ अन्तर्गत साँस्कृतिक शाखा युनेस्कोको कार्यकारी बोर्डले एउटा प्रस्ताव पारित गर्दै जेरुसलेमको अल–अक्सा मस्जिदमा यहुदीको दाबी नभएको उल्लेख गरेको थियो।
युनेस्कोको कार्यकारी समितिले पनि यो प्रस्तावलाई पास गरेको थियो। सो प्रस्तावमा अल–अक्सा मस्जिदमा मुसलमानको अधिकार भएको र यहुदीसँग त्यसको कुनै सम्बन्ध नभएको जनाइएको थियो।
सो मस्जिद छेउमै यहुदीको टेम्पल माउन्ट मन्दिर छ। यहुदीले सो मन्दिरलाई महत्वपूर्ण धार्मिकस्थल मान्छन्।
हालै मस्जिदको स्पिकर ठूलो भएको भन्दै त्यहाँ हिंसा मच्चिएको थियो। यदिबेला भने प्यालेस्टाइनका नागरिकलाई त्यहाँ प्रवेश निषेध नै गरिएको बताइएको छ। बीबीसी
Shares

प्रतिक्रिया