अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपुर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन्।
कोभिड १९ संक्रमितको संख्या बढेसँगै अक्सिजन अभावमा विरामीको मृत्यु भएको तथा अस्पतालका आईसीयू र भेन्टिलेटर संञ्चालनमा समस्या भएको समाचार आईरहँदा अक्सिजन उत्पादकहरुले भविष्यमा अझै ठूलो समस्या आईपर्ने चेतावनी दिएका हुन्।
अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले २४ सै घण्टा प्लान्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताए।
उनले तत्काल सरकारले अक्सिजन आपुर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगणाले वृद्धि हुने चेतावनी दिए।
उनले सरकारले अक्सिजन आपुर्ति सहज बनाउन बाहिरबाट आयात गर्ने कि स्वदेशी उत्पादनको क्षमता वृद्धि गर्ने भन्ने बारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताए।
उनले अहिले काठमाडौं उपत्यकामा मात्रै ८ वटा प्लान्ट संञ्चालनमा रहेको र २ वटा प्लान्टहरु मर्मतको क्रममा रहेको जानकारी दिदै सबै प्लान्ट पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि वर्तमान अवस्थामा अक्सिजनको माग थेग्न नसकिने बताए।
अहिले दैनिक झण्डै ९ हजार ग्यास सिलिन्डर उत्पादन भईरहेको पनि उनले जानकारी दिए।
सगरमाथा अक्सिजन नेपाल प्रालिका अध्यक्षसमेत रहेका तिमिल्सनाले घरमा अनावश्यक अक्सिजन स्टक नराख्न तथा घर, अस्पताल, इन्डस्ट्रिजमा भएका खाली सिलिन्डर उद्योगमा फिर्ता गरेर सर्वसाधरणको जीवन रक्षाका लागि सहयोग गर्न आव्हान पनि गरे।
सोचे भन्दा तीन गुना अक्सिजनको माग बढेर गएको उनले बताए। यहाँको उत्पादनले अबको बजार र माग पुरा गर्न नसक्ने स्थिति आइसकेको उनको भनाई छ।
'सम्बन्धित निकाय र सम्बन्धित उद्योगीहरु तयार भएर यसको विकल्प के हो ? त्यसको व्यवस्थापन गरेर हामी अगाडि बढेनौ भने यो देशमा अक्सिजनको विषयलाई लिएर ठूलो अभाव हुने संभावना मैले देखेको छु', उनले भने।
अक्सिजन अभावमा अस्पतालमा उपचार हुन नसकेपछि सर्वसाधरण अहिले आफन्तको उपचारका लागि आफै अक्सिजन उत्पादन कम्पनिमा पुग्ने गरेका छन्।
सर्वसाधरण अक्सिजनको सिलिन्डर बोकेर उद्योगमा नै जान थालेपछि अहिले उद्योगको सुरक्षार्थ सुरक्षाकर्मी नै परिचालन गरिएको छ।
ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन नेपाल प्रालिमा दुई दिनदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ।
विशेष गरेर सरकारले सम्बन्धित निकायको सिफारिसमा मात्रै अक्सिजन उपलब्ध गराउन उद्योगहरुलाई परिपत्र जारी गरेपछि सर्वधारण उद्योग घेराउमा निस्किएका छन्।
मन्त्रालयले अस्पतालबाहेक घरघरमा बसेका दीर्घरोगी, कोभिड भएर घरमै बसेर उपचार गराईरहेका विरामीको आवश्यकतालाई वेवास्ता गरेको भन्दै सर्वसाधरणहरु आक्रोशित भई अक्सिजन उद्योग घेराउमा पुगेपछि अहिले अक्सिजन उद्योगहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

प्रतिक्रिया