नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण भएको छ।
हिजो (सोमबार) गरिएको पीसीआर परीक्षणमा सिंहलाई कोरोना पोजिटिभ देखिएको उनकी पत्नी एवम् राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्।
पार्टी कामको सिलसिलामा पश्चिम नेपालका विभिन्न जिल्लामा पुगेर फर्केपछि सिंह बिरामी परेका थिए।
सिंहलाई ज्वरो आउने, खोकी लाग्नुका साथै टाउको दुख्ने समस्या देखिएको र अक्सिजनको मात्रा घटबढ देखिएपछि परीक्षण गराइएको थियो।
उनको अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा उपचार भइरहेकाे पौडेलले बताइन्।
महामन्त्री सिंहसँगै छोरा विश्वमोहनलाई पनि कोरोना पोजिटिभ देखिएको छ। विश्वको अवस्था पनि सामान्य छ।
नेकपा मसालले महामन्त्री सिंहको स्वास्थ्य लाभको कामना गरेको छ। केन्द्रीय कार्यालयका तर्फबाट प्रवक्ता रामप्रकाश पुरीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंह कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ। होम आइसोलेसनमा नै उहाँको उपचार भइरहेको छ। दुर्गा पौडेलसहित परिवारका अन्य सदस्यहरूको प्रत्यक्ष रेखदेखमा उहाँको उपचार गरिँदैछ।
उनमा कोरोना संक्रमणको अवस्था प्रारम्भिक चरणमै रहेको र सुधारउन्मुख दिशामा बढिरहेको विज्ञप्तिमा उल्लेख छ। दुई दिनअगाडी अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको पार्टीले जनाएको छ।
‘उहाँको स्वास्थ्यमा सुधार हुँदै जानेछ भन्ने कुरामा हामीलाई विश्वास छ। सम्पूर्ण पार्टी पङ्क्ति महामन्त्री कामरेड मोहनविक्रम सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया