राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कुनै नाटकीय परिवर्तन भएन भने प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजै राजीनामा आउने अनुमान गरेका छन्।
प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रतिनिधि सभामा विश्वासको मत माग्ने कार्यसूची छ।
त्यसअघि बिहान राप्रपा अध्यक्ष थापाले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने र राजीनामा दिने सम्भावना औंल्याएका हुन्। तर फेरि पनि ओली प्रधानमन्त्री बन्न सक्ने दाबी पनि थापाले गरेका छन्।
साथै अध्यक्ष थापाले कथं ओली पुनः प्रधानमन्त्री भएनन् भने पनि उनले देश र जनताका लागि गरेका योगदान सदा स्मरणमा रहने पनि उल्लेख गरेका छन्।
‘नाटकीय परिवर्तन भएन भने आज प्रमले संसदमा विश्वासको मत गुमाउनु हुनेछ। आजै राजीनामा आउला। फेरि प्रम बन्न सक्नुहोला,’ थापाले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘जेहोस्, अनेक विवाद/असफलताका बाबजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहनेछ।’
तर ओलीले विश्वासको मत नलिईकन पहिले राजीनामा दिएर ठूलो दलको नेताको हैसियतमा आजै पुनः प्रधानमन्त्रीमा नियुक्ति लिने तयारी गरेको चर्चा पनि चलिरहेको छ।
यो पनि : राजीनामा दिएर आजै पुनः प्रधानमन्त्री नियुक्त हुने ओलीको तयारी

प्रतिक्रिया