राजनीति


प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी : बलमिच्याइँ तत्काल बन्द गर्नुस्

प्रधानमन्त्री ओलीलाई माधव नेपालको चेतावनी : बलमिच्याइँ तत्काल बन्द गर्नुस्

नेपालखबर
बैशाख २५, २०७८ शनिबार ३:२६,

एमालेका दुई पक्षबीच सहमति गर्ने प्रयास भइरहेको भन्ने खबर सार्वजनिक भइरहेका बेला असन्तुष्ट पक्षका प्रमुख नेता माधवकुमार नेपालले भने पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तर विरोध गरिरहेका छन्।

यसै क्रममा आज बिहान पनि वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओली अलोकतान्त्रिक बाटोमा अघि बढिरहेको आरोप लगाउँदै कडा विरोध गरेका हुन्।

ओलीसँग कुनै सहमति नभएको भनेर शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिएका नेता नेपालले आज पनि सामाजिक सञ्जालमार्फत नै ओलीको कार्यशैलीविरुद्ध टिप्पणी गरेका हुन्।

खासगरी ओलीले वैशाख २६ गतेका लागि संवैधानिक परिषदको बैठक बोलाएका विषयमा नेता नेपालले कडा विरोध जनाएका हुन्।

यो पनि : प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक, सभामुख र कांग्रेस सभापति नजाने

नेता नेपालले भनेका छन्, ‘कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याइँ गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो।’ 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले संकटका बेला पनि सरकार, नागरिकप्रतिको दायित्त्वबाट च्यूत भएको आरोप लगाएका छन्। साथै उनले प्रधानमन्त्री ओली गलत बाटोमा अघि बढिरहेको आरोप लगाउँदै त्यो तत्काल बन्द गर्न चेतानवी पनि दिएका छन्।

उनले अगाडि भनेका छन्, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्त्वबाट च्यूत हुन मिल्दैन। अतः  गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आह्वान गर्छु।’

madhavstatus

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad