राजनीति


डिस्चार्ज भएपछि डा. भट्टराईले भने : वीर अस्पतालप्रति किन यति उपेक्षाभाव?

डिस्चार्ज भएपछि डा. भट्टराईले भने : वीर अस्पतालप्रति किन यति उपेक्षाभाव?

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार १३:२७,

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज भएका छन्।

न्युरो–इन्डोक्राइनको ट्युमर शल्यक्रिया (अपरेसन) का लागि ९ दिनअघि वीर अस्पताल भर्ना भएका नेता भट्टराई आज डिस्चार्ज भएका छन्।

उनको डा. सुबोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले सफल अपरेसन गरेको थियो।

अस्पतालबाट डिस्चार्ज भएपछि डा. भट्टराईले वीर अस्पतालप्रति राज्यले उपेक्षा गरेको गुनासो गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले वीरमा यति सस्तो र स्तरीय सुविधा हुँदाहुँदै कथित भीआईपीहरु किन महंगा निजी अस्पतालमा जान्छन् भनी प्रश्न पनि गरेका छन्।

डा. भट्टराई लेख्छन्ः
‘देशको जेठो र अग्रणी अस्पताल वीर अस्पतालबाट नवौं दिनमा मेरो शल्यक्रियामा महत्वपूर्ण योगदान गर्नुहुने सबैसँग विदा भएर निवास फर्कदा मनमा उठेका केही तरंगः

आफ्नै देशको सरकारी अस्पतालमा यति स्तरीय र कम खर्चिलो सेवासुविधा हुॅदाहॅदै कथित भीआईपीहरू किन निजी मुनाफामुखी अस्पताल वा विदेशी अस्पताल धाउॅछन्? देशको नेतृत्व गर्नेहरूले नै स्वास्थ्यसेवालाई निजी मुनाफाको क्षेत्र बनाउन प्रोत्साहन गरेपछि स्वास्थ्यसेवामा सबैको मौलिक अधिकार र राज्यको दायित्व हुनेछ भन्ने हाम्रो संविधानको प्रतिबद्धता कसरी पूरा हुन्छ?

इसं १८८९ (विसं १९४७) मा संघीय राजधानीको केन्द्रमा स्थापित वीर अस्पतालसँग कुनै न कुनै बेला र रूपमा नजोडिएको कुनै ठूलो नेपाली राजनीतिक नेता/चिकित्सक/वौद्धिक/उद्यमी-व्यवसायी पाउन कठीन हुॅदाहुॅदै पनि यो अस्पतालप्रति किन प्रायः सबैको यत्रो उपेक्षाभाव? वीर अस्पताललाई आधुनिक युग र देशको आवश्यकता अनुरूप राज्यले पूर्ण दायित्व लिएर देशको प्रमुख स्वास्थ्यसेवा रअध्ययन-अनुसन्धान केन्द्र किन नबनाउने?

तत्काल वीर अस्पताल संघीय स्वास्थ्य मन्त्रालय कि राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (नाम्स) मातहत भन्ने प्राविधिक/आर्थिक/व्यवहारिक अस्पष्टता र झमेला तथा चिकित्सक/स्वास्थ्यकर्मी/कर्मचारीबीचमा अन्योल/असमझदारी/चलखेलले आक्रान्त बनेको देखिएकाले यसको तत्काल वस्तुसंगत निरूपण गर्न किन ढिलाइ?’

यसअघि डा. भट्टराई ट्युमरमा क्यान्सर भएको शंकाले भारत गएका थिए। तर त्यहाँको अस्पतालले परीक्षण गरी क्यान्सर नभएको पुष्टि गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad