राजनीति


उपचार सहज बनाउन कैलालीका सीडीओलाई उपप्रधानमन्त्री पोखरेलको निर्देशन

उपचार सहज बनाउन कैलालीका सीडीओलाई उपप्रधानमन्त्री पोखरेलको निर्देशन

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार १५:४६,

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो परिस्थिति बारे जानकारी लिएका छन्।

कैलालीमा कोरोनाका बिरामीहरुले उपचार नपाएको, शव व्यवस्थापन नभएको जस्ता गुनासो आएपछि उपप्रधानमन्त्री पोखरेलले आज कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई टेलिफोन गरी जानकारी लिएका हुन्।

उनले संकटको अवस्था रहेकाले जनताले अनुभुति गर्ने गरी राज्यको उपस्थिति जनाउन, जनताको राहतको महसुस गराउन र सरकारले गरेका निर्णयलाई कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिए।

मन्त्रिपरिषद्ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सदूरपश्चिमको समन्वय गर्नका लागि तोकेको जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले समस्या परे सिधै आफूलाई अथवा सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सम्पर्क गर्न निर्देशन पनि दिए।

उपप्रधानमन्त्री पोखरेलले सीमा नाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण होल्डिङ सेन्टर र कोरोना विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि सिडिओसँग जानकारी लिएका थिए।

कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले गेटा मेडिकल कलेजमा करिब दुई हजार जना अट्ने होल्डिङ सेन्टर, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टर बनाइरहेको जानकारी दिए। त्यसका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई संयुक्त व्यवस्थापनको जिम्मा दिइएको उनले जानकारी गराए।

उपप्रधानमन्त्री पोखरेलले अक्सिजन ग्यासको दुरुपयोग रोक्नुपर्ने भन्दै धनगढीको अक्सिजन प्लान्टको क्षमता बढाउन आवश्यक परे सीसीएमसीले सहयोग गर्ने बताए। खाद्यान्न तथा अत्यावश्यक सामग्रीको ढुवानी बाहेक सीमामा आवातजावतमा कडाइ र निगरानी गर्न पनि उनले निर्देशन दिए।

उपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पनि टेलिफोन गरी कोरोनाका बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .