विपक्षी दलले आफूविरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने तयारी गरिरहेको चर्चाबीच अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली आफैंले त्यसअघि नै विश्वासको मत लिने घोषणा गरेका छन्।
त्यसका लागि उनले मन्त्रिपरिषदमार्फत सिफारिस गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही वैशाख २७ गते दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको अधिवेशनसमेत आह्वान गराइसकेका छन्।
यस्तो छ संसदीय अंकगणित
२७५ सदस्यीय प्रतिनिधि सभा भए पनि अहिले २७१ सांसद मात्र छन्। तीमध्ये सबैभन्दा ठूलो दल प्रधानमन्त्रीकै पार्टी एमालेका १२१ जना छन्।
यस्तै नेपाली कांग्रेसका ६३ सांसदमध्ये दुई जना निलम्बनमा परेकाले अहिले ६१, माओवादी केन्द्रका ४९ र जनता समाजवादी पार्टीका ३४ सांसदमध्ये २ जना निलम्बनमा परेकाले ३२ जना छन्। राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका एक–एक जना सांसद छन् भने स्वतन्त्रबाट एक सांसद छन्।
यस हिसाबले अहिले प्रतिनिधि सभामा जम्मा सांसदको संख्या २७१ भएको हो। तसर्थ प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा उनका पक्षमा बहुमत पुग्न १३६ सांसदको साथ आवश्यक हुन्छ।
ओली पक्षका एक सांसदका अनुसार एमालेसँगै १२१ सांसद रहेकाले जसपाका सांसदले मत दिए बहुमत पुग्ने विश्वास गरिएको छ।
जसपामा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको खेमा ओलीविरुद्ध भए पनि अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोहरू ओलीका पक्षमा छन्। तसर्थ जसपाका सबै सांसदबाट विश्वासको मत प्राप्त नभए पनि एउटा पक्षले साथ दिनेमा प्रधानमन्त्री ओली ढुक्क छन्।
एमालेका सबै सांसदले मत दिएका खण्डमा बहुमत पुर्याउन ओलीलाई केवल १५ मत आवश्यक पर्छ। जुन जसापका ३२ सांसदमध्ये ठाकुर–महतो पक्षबाट आउने मतले परिपूर्ति हुनेमा ओली आशावादी छन्।
तर एमालेका १२१ सांसदमध्ये माधव नेपाल पक्षका सांसदले कर्णालीमा जस्तै फ्लोर-क्रस गरे भने प्रधानमन्त्री ओलीलाई बहुमत नपुग्ने निश्चित छ। उसो त प्रधानमन्त्री ओलीले नेपालसहित उनी पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेर राखेका छन्।
कतिपयको अनुमान छ– विश्वासको मत लिनुअघि नै प्रधानमन्त्री ओलीले उनीहरूलाई सांसदबाट निकाल्न सक्छन्।
तर त्यसो गर्दा ओलीको आफ्नै पार्टी एमालेका सांसदको संख्या घट्छ र बहुमत पुर्याउन झन् कठिन हुन्छ।
यति हुँदाहुँदै पनि ओलीले विपक्षमा पनि बहुमत पुग्न नदिएर अल्पमतको सरकार बनाई चुनाव घोषणा गर्न सक्छन्।

प्रतिक्रिया