राजनीति


मजदुर दिवसमा प्रधानमन्त्रीको सन्देश : श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउँछौँ

मजदुर दिवसमा प्रधानमन्त्रीको सन्देश : श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउँछौँ

नेपालखबर
बैशाख १८, २०७८ शनिबार २:३६,

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्युनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुर्‍याइने  बताएका छन्।

आज परेको १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले श्रमिकको न्युनतम पारिश्रमिक बढाइने बताएका हुन्। हाल श्रमिकले न्युनतम १३ हजार चार सय ४० रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन्।

प्रधानमन्त्री ओलीले मजदुरको दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ पुर्याइने प्रतिवद्धतासमेत व्यक्त गरेका छन्।

वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको ओलीले सन्देशमा उल्लेख गरेका छन्। ‘औपचारिक कि अनौपचारिक क्षेत्र भन्ने विभेदलाई कानुनी रूपमा अन्त्य गरेका छौँ। हामीले अनौपचारिक क्षेत्रलाई औपचारीकरण गर्ने प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेका छौँ,’ ओलीको शुभकामना सन्देशमा भनिएको छ।

सबै श्रमिकलाई सामाजिक सुरक्षाको विधिद्वारा पुनरपरिभाषित गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले श्रम लचकता र सामाजिक सुरक्षाबीच उचित सन्तुलन सुनिश्चित गरिएको बताएका छन्।

एक आर्थिक वर्षमा दुई लाखभन्दा बढीलाई न्यूनतम सय दिनको काम वा न्यूनतम ज्यालाको आधा ‘बेरोजगार भत्ता’ उपलब्ध गराएको ओलीको भनाई छ।

स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको, योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध गरिएको ओलीले उल्लेख गरेका छन्।

त्यसैगरी नेपाली सेनामा १६ वर्षे सेवापछि निवृत्तिभरणको व्यवस्था लागू गरिएको, श्रमिकको न्यूनतम पारिश्रमिकमा ३९ प्रतिशत र राष्ट्रसेवक कर्मचारीको पारिश्रमिकमा २० प्रतिशतले वृद्धि गरिएको ओलीको भनाई छ।

प्रधानमन्त्री ओलीले मानिसका लागि जीवन सबैभन्दा महत्त्वपूर्ण भएकाले महामारीबाट आम नेपालीको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताएका छन्। ‘अहिले सरकार महामारी नियन्त्रण, उपचार र रोकथामसँगै गर्नुपर्ने अवस्थामा छ,’ ओलीको सन्देशमा भनिएको छ, ‘पीसीआर परीक्षण प्रयोगशाला ८७ वटा तथा अस्पताल र स्वास्थ्य चौकीको सङ्ख्या आठ हजार ९८२ पुर्याएका छौँ। महामारीपछि अस्पतालहरुमा शय्या ३८.४ प्रतिशत थप गरिएको छ।’

यस वर्ष ३०९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि एकैपटक शिलान्यास गरिएक स्मरण गर्दै ओलीले अर्को वर्ष थप २०४ स्थानीय स्तरका अस्पताल निर्माण सुरु गरिने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad